कैलाली : सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रदेशमा विगतजस्तो सङ्गठित आपराधिक समूह सक्रिय नरहेको दाबी गरेको छ। सर्वसाधारणले भने अझै पनि विभिन्न अन्डरग्राउन्ड ग्याङहरूको त्रास कायम रहेको बताएका छन्।
प्रहरी प्रशासनले प्रदेशमा कुनै पनि ठूला सङ्गठित अपराधी समूह सक्रिय नरहेको बताए पनि स्थानीय स्रोतका अनुसार किशोर समूहदेखि जेलभित्रै सञ्चालन हुने आपराधिक सञ्जालसम्म अझै अस्तित्वमा छन्। विशेषगरी कैलाली र कञ्चनपुर मा जेलभित्रबाटै अपराधीहरूले प्रभाव जमाउने गरेको चर्चा हुने गरेको छ।
कैलालीमा विगतमा नन्दु सरकार, जयन्द्र समूह, कोब्रा सरकार र इगल ग्याङजस्ता आपराधिक समूह चर्चामा थिए। ती समूहहरूले जेलभित्रसमेत प्रभाव जमाएको आरोप लाग्ने गरेको थियो। अहिले भने कैलाली कारागार प्रशासनले यस्ता समूहबीच सम्पर्क हुन नदिन कैदी सरुवा र निगरानीमा कडाइ गरिएको जनाएको छ।
पहिले कैलालीको दक्षिण–पूर्वी क्षेत्रलाई अपराधी गतिविधिको केन्द्रका रूपमा हेरिन्थ्यो। पछिल्लो समय भने हत्या, हिंसा तथा ग्याङ गतिविधिका ठूला घटनामा कमी आएको प्रहरीको दाबी छ। प्रहरीका अनुसार अपराधी समूह फेरि सक्रिय हुन नदिन विशेष रणनीति अपनाइएको छ।
प्रदेशका पहाडी जिल्लामा भने राजनीतिक संरक्षण, व्यक्तिगत रिसिइबी तथा स्थानीय विवादका कारण साना समूह सक्रिय रहेको बताइन्छ। कतिपय अवस्थामा नेकपा बहुमत र वैज्ञानिक समाजवादी पार्टी का कार्यकर्ताको नाम प्रयोग गरी धम्की दिने तथा चन्दा असुल्ने गतिविधि भइरहेको स्रोतको दाबी छ।
यता पदमबहादुर विष्ट ले अपराधीहरूलाई सक्रिय हुन नदिने स्पष्ट चेतावनी दिएका छन्।
“अहिले त्यस्तो सक्रिय रूपमा कोही छैनन्। हामीले उनीहरूलाई सक्रिय हुन दिएका छैनौँ र दिने पनि छैनौँ,” उनले भने।
उनका अनुसार अहिले प्रहरीलाई विगतको तुलनामा स्वतन्त्र रूपमा काम गर्न सहज भएको छ।
“नयाँ सरकार आएपछि राजनीतिक दबाब छैन। कुनै नेताले अपराधी छुटाउन फोन गर्दैनन्। हामीलाई स्वतन्त्र भएर काम गर्न भनिएको छ। अपराधीभन्दा प्रहरी धेरै शक्तिशाली छ, त्यसैले कसैलाई पनि छुट दिइँदैन,” एसएसपी विष्टले बताए।
प्रहरीले अवस्था नियन्त्रणमा रहेको दाबी गरे पनि भुइँतहमा सक्रिय सञ्जाल र जेलभित्रबाटै सञ्चालन हुने निर्देशनका कारण सर्वसाधारणमा भने अझै संशय कायम छ। प्रहरीले नयाँ कार्यशैली र कडाइमार्फत सङ्गठित अपराध पूर्ण रूपमा नियन्त्रण गर्ने योजना रहेको जनाएको छ।