कञ्चनपुर : कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई हजार ६३४ जना पर्यटकले भ्रमण गरेका छन्। निकुञ्ज कार्यालयका अनुसार भ्रमण गर्नेमा एक हजार ६२९ पुरुष र एक हजार पाँच महिला रहेका छन्।
निकुञ्ज भ्रमण गर्नेहरूमध्ये दुई हजार २७८ जना आन्तरिक पर्यटक रहेका छन् भने सार्क मुलुकबाट दुई सय ४४ र अन्य मुलुकबाट एक सय १२ विदेशी पर्यटक पुगेका छन्।
तथ्याङ्कअनुसार सबैभन्दा बढी पर्यटक चैत महिनामा पुगेका छन्। चैतमा छ सय २१ जना, कात्तिकमा पाँच सय ८०, मङ्सिरमा दुई सय ९३, पुसमा तीन सय ७६, माघमा तीन सय ६९ र फागुनमा तीन सय ८६ जना पर्यटकले निकुञ्ज भ्रमण गरेका छन्।
पर्यटन गतिविधिबाट निकुञ्जले १४ लाख ६७ हजार ४८६ रुपैयाँ राजस्व सङ्कलन गरेको छ। निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जैविक विविधता, विशाल घाँसे मैदान, दुर्लभ वन्यजन्तु तथा शान्त वातावरणका कारण
शुक्लाफाँटा पर्यटकको आकर्षण बन्दै गएको बताए।
“नेपालकै सबैभन्दा ठूलो घाँसे मैदान रहेको यस निकुञ्जमा पाटेबाघ, मृग, बाह्रसिङ्गालगायत दुर्लभ वन्यजन्तु पाइन्छन्,” उनले भने, “प्राकृतिक सौन्दर्य र जैविक विविधताबारे अध्ययन–अनुसन्धान तथा अवलोकनका लागि स्वदेशी तथा विदेशी पर्यटक आउने गरेका छन्।”
निकुञ्जको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०/८१ मा तीन हजार ७६२ जनाले निकुञ्ज भ्रमण गरेका थिए। त्यसमध्ये एक सय ३२ विदेशी तथा एक सय १२ सार्क मुलुकका पर्यटक रहेका थिए। यस्तै आर्थिक वर्ष २०८१/८२ मा तीन हजार ३२२ पर्यटकले भ्रमण गरेका थिए।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले शुक्लाफाँटाको प्रभावकारी प्रचारप्रसार गर्न सके उल्लेख्य सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने बताए।
तीन सय पाँच वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज बाह्रसिङ्गाका लागि प्रसिद्ध मानिन्छ। निकुञ्जमा हाल दुई हजार ३२३ भन्दा बढी बाह्रसिङ्गा रहेको जनाइएको छ।