कञ्चनपुर : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले सञ्चालन गरेको एक साता लामो ‘स्विप अपरेशन’ अन्तर्गत विभिन्न अपराधमा संलग्न ७९ जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले २०८३ माघ ८ गतेदेखि १४ गतेसम्म सञ्चालन गरेको अभियानमा ३४ जनाविरुद्ध मुद्दा दर्ता गरी कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।
प्रहरीका अनुसार उक्त अवधिमा कुल २२ वटा मुद्दा दर्ता भएका छन्। जसमध्ये सबैभन्दा बढी लागूऔषधसम्बन्धी ११ वटा मुद्दा रहेका छन्। त्यसैगरी अभद्र व्यवहारका ५, चोरीका २ तथा कर्तव्य ज्यान, बहुविवाह, ज्यान मार्ने उद्योग र अपराधिक लाभसम्बन्धी एक/एक वटा मुद्दा दर्ता भएका छन्।
अभियानका क्रममा लागूऔषध कारोबारमा संलग्न १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट ७३ दशमलव ३८ ग्राम खैरो हिरोइन, ३१ दशमलव १० ग्राम चरेश तथा २१ थान बुप्रेनोर्फिन इन्जेक्सन बरामद गरिएको छ।
त्यसैगरी अभद्र व्यवहारमा संलग्न ७, कर्तव्य ज्यान मुद्दामा ३, बहुविवाहमा २, चोरीमा २, ज्यान मार्ने उद्योगमा १ तथा अपराधिक लाभसम्बन्धी १ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अभियानकै क्रममा अदालतबाट फैसला भई फरार रहेका ५ जनालाई समेत पक्राउ गरिएको छ। उनीहरूबाट १३ वर्ष ११ महिना ११ दिन कैद सजाय तथा ३ लाख १३ हजार रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
यसैबीच, प्रहरीले ४५ जनालाई सोधपुछपछि अभिभावक तथा जिम्मेवार व्यक्तिको जिम्मा लगाएको छ। तीमध्ये रातिको समयमा अनावश्यक हिँडडुल गर्ने २२, झैँ–झगडामा संलग्न १९, मादक पदार्थ सेवन गरी सवारी चलाउने २ तथा लागूऔषध प्रयोगकर्तामध्ये २ जनालाई सुधारगृह पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले समाजमा शान्ति सुरक्षा कायम राख्न यस्ता ‘स्विप अपरेशन’लाई निरन्तरता दिइने जनाएको छ।