कञ्चनपुर : नेपाल कम्युनिस्ट पाटी (बहुमत) को युवा संगठनले महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग गरेको छ । कम्युनिस्ट युवा संगठन नेपालले कञ्चनपुरस्थित महेन्द्रनगर नगरविकास समितिको अतिक्रमित जमिन हटाउन माग अघि सारेको हो ।
बहुमतनिकट कम्युनिस्ट युवा संगठनले नगर विकास समितिको स्वामित्वमा रहेको ६ सय २८ बिघा, ८ कट्ठा १३ धुर जमिन गैरकानुनी रूपमा बिक्री–वितरण, लिजमा लिएर दोहन गरेको भन्दै अतिक्रमण हटाउन सरकारसँग माग गरेको छ । यसरी, जिल्ला सदरमुकाम महेन्द्रनगरमै सरकारी जमिन अतिक्रमित हुँदा निर्वाचित सांसददेखि प्रहरी प्रशासनलाई बेखबर नबस्नसमेत आग्रह गरिएको छ ।
जिल्लाभरि सरकारी, सार्वजनिक जमिन अतिक्रमण भएको विषयमा पटक–पटक सूचना जारी गर्ने अनि नहट्ने प्रवृत्ति लज्जास्पद भएको कम्युनिस्ट युवा संगठनको ठहर छ ।
कम्युनिस्ट युवा संगठन कञ्चनपुरका अध्यक्ष अनमोल ठकुरीले हस्ताक्षर गरेको विज्ञप्तिमा नियमविपरीतका जमिन खाली गर्न र अवैध संरचना भत्काउन माग अघि सार्दै सरकारले अतिक्रमण हटाउने काम नगरे आन्दोलनको चेतावनी दिएको छ । सरकारले समेत सय दिनभित्रै देशभरको सरकारी अतिक्रमित जमिन हटाउने लक्ष्य अघि सारेको छ ।