कञ्चनपुर : भीमदत्त नगरपालिका ले उच्च शिक्षामा महिलाको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले ‘छोरीबुहारी उच्च शिक्षा अध्ययन छात्रवृत्ति’ कार्यक्रम कार्यान्वयन गरेको छ।
नगर क्षेत्रका जेहेन्दार, दलित तथा विपन्न वर्गका छोरीबुहारीलाई उच्च शिक्षा अध्ययनमा सहयोग पुर्याउन नगरपालिकाले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो।
कार्यक्रमअन्तर्गत प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिइएको छ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमका अनुसार एमबिबिएस अध्ययन गर्ने दुई जनालाई जनही दुई लाख रुपैयाँ तथा इन्जिनियरिङ अध्ययन गर्ने तीन जनालाई जनही एक लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिनेछ।
त्यसैगरी, नर्सिङ, फार्मेसी, विज्ञान, व्यवस्थापन, शिक्षा र मानविकी सङ्कायमा अध्ययनरत छ जना छात्रालाई जनही ५० हजार रुपैयाँ उपलब्ध गराइनेछ।
“यो कार्यक्रमबाट आर्थिक अभावका कारण उच्च शिक्षा हासिल गर्न कठिनाइ भएका छात्रालाई राहत पुग्ने हाम्रो विश्वास छ,” प्रमुख प्रशासकीय अधिकृत बमले भने, “विशेषगरी विवाहपछि पनि उच्च शिक्षालाई निरन्तरता दिन चाहने छोरीबुहारीका लागि यो कार्यक्रम उपयोगी हुनेछ।”