कैलाली : ललितपुर महानगरपालिका नगर प्रमुख चिरिबाबु महर्जनले धनगढी उपमहानगरपालिकाले गरेको विकासको प्रशंसा गर्दै ललितपुरले धनगढीबाट धेरै कुरा सिक्न बाँकी रहेको बताएका छन्।
धनगढी उपमहानगरपालिकामा आइतबार आयोजित ‘ई–वेस्ट प्रोसेसर ट्रेनिङ’ उद्घाटन कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।
मेयर महर्जन धनगढीबाट सोमबार परशुराम नगरपालिका मा हुने कार्यक्रममा सहभागी हुनेछन्। नेपालमै पहिलो पटक सुरु गरिएको उक्त तालिम उद्घाटनका क्रममा उनले धनगढीको ६ लेन सडक, स्मार्ट लाइट तथा सडकको हरियाली देखेर आफू निकै प्रभावित भएको बताए।
“म त धनगढीको बत्ती बलेको देखेर छक्क परेँ, लेभल मिलेको बत्ती देखेर म एकदम खुसी छु, धनगढीले गोपाल हमाल जस्तो काम गर्ने मेयर पाउनु गर्वको कुरा हो,” उनले भने।
मेयर महर्जनले ललितपुर महानगरपालिका विश्व सम्पदा सूचीमा परेको सानो भूगोलको सहर भए पनि फोहोर व्यवस्थापनमा अझै चुनौती रहेको उल्लेख गरे। उनले ललितपुरमा पेट्रोल–डिजेलका गाडी खरिद नगर्ने नीति लिइएको र फोहोर बोक्ने बाहेकका सबै सवारीसाधन विद्युतीय खरिद गरिसकिएको जानकारी दिए।
धनगढीले सुरु गरेको ई–वेस्ट व्यवस्थापनको नमुना कार्यक्रम आफूले पनि ललितपुरमा लागू गर्ने उनले बताए। साथै, चार वर्षअघि मलेसियामा आफू र मेयर हमालबीच स्मार्ट सिटी अवधारणाबारे भएको छलफल स्मरण गर्दै धनगढीले त्यसलाई व्यवहारमा उतारेकोमा प्रशंसा गरे।
धनगढी उपमहानगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा उनले भूकम्पपछि ललितपुरका मन्दिर पुनर्निर्माणमा जनसहभागिताबाट ठूलो रकम सङ्कलन गरी काम गरिएको अनुभव पनि साटे। “हामी एकअर्काबाट सिक्ने हो, धनगढी अहिले नमुना काम गरिरहेको उत्कृष्ट उपमहानगरपालिका बनेको छ,” उनले भने।