डाेटी : डोटीको दिपायल सिलगढी नगरपालिका–१ अन्तर्गतका गोसेडा, तिखा, सिरखोली लगायतका बस्तीमा वर्षौंदेखि खानेपानीको चरम अभाव छ। “धान पैचोँ सबै ठाउँ देखे, पानी पैचोँ तिखा” भन्ने स्थानीय उखानले त्यहाँको वास्तविक पीडा झल्काउँछ। पानीको जोहो गर्न राति १२ बजेदेखि पालो कुर्नुपर्ने बाध्यता अझै पनि धेरै घरपरिवारले भोगिरहेका छन्।
खानेपानी अभावले दैनिक जीवन मात्रै होइन, शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिसमेत प्रभावित भएका छन्। विद्यार्थीहरू विद्यालय जानुअघि पानीको पालो राख्न बाध्य छन् भने धेरै परिवार बसाइँसराइ गर्न थालेका छन्। स्थानीयका अनुसार खानेपानी संकट नै गाउँ खाली हुनुको मुख्य कारण बन्दै गएको छ।
तर अब भने यो समस्या समाधानतर्फ अघि बढेको छ। दिपायल सिलगढी नगरपालिकाले सेती नदीको पानी लिफ्टिङ प्रविधिबाट उकालो चढाएर वडा नं. १ का करिब ७०० घरधुरीमा खानेपानी पुर्याउने योजना अघि बढाएको हो। विश्व बैंकको लगानीमा सञ्चालित उक्त योजनाअन्तर्गत ट्यांकी निर्माण र पाइपलाइन विस्तारको काम तीव्र रूपमा भइरहेको छ।
नगरपालिकाले धनगढीस्थित किनारा निर्माण सेवा एण्ड कम्पनी प्रालिसँग १२ करोड ८३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेर काम सुरु गरेको हो। ठेकेदार सुवास बोहराका अनुसार आयोजनाको ६० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ। उनका अनुसार २०८२ असोजदेखि सुरु भएको योजना २०८३ सालको दशैंभित्र सम्पन्न गरी पानी वितरण गर्ने लक्ष्य छ। यद्यपि, नगरपालिकासँग भने दुई वर्षभित्र योजना सम्पन्न गर्ने सम्झौता भएको छ।
योजनाअन्तर्गत सेती नदीबाट पानी तानेर गोसेडामाथि मुख्य ट्यांकी निर्माण गरी विभिन्न बस्तीमा वितरण गरिनेछ। पानी उकालो पुर्याउन चारवटा ट्यांकी निर्माण भइरहेका छन्। तीमध्ये दुईवटा ट्यांकी निर्माण सम्पन्न भइसकेका छन् भने बाँकी दुईवटाको काम करिब ५० प्रतिशत सकिएको छ। पाइपलाइन विस्तारको काम पनि करिब ६० प्रतिशत पूरा भएको निर्माण कम्पनीले जनाएको छ।
खानेपानी योजना निर्माण भइरहँदा स्थानीयमा उत्साह थपिएको छ। गोसेडाका स्थानीय पुस्कर साउँदले खानेपानी समस्या समाधान हुने आशाले गाउँमा नयाँ ऊर्जा थपिएको बताए। “हाम्रो मुख्य समस्या नै पानी हो, पानी आएपछि कृषि गर्न सकिन्छ, गाउँमै जीवन सहज हुन्छ,” उनले भने।
अर्का स्थानीय लक्ष्मण साउँदले दशकौँदेखिको पीडा अब अन्त्य हुने चरणमा पुगेको भन्दै खुसी व्यक्त गरे। उनका अनुसार खानेपानी अभावले दैनिक जीवन निकै कष्टकर बनेको थियो।
नगरप्रमुख बाजी सिंह खड्का (विजय) ले खानेपानी योजनाले वडा नं. १ का बासिन्दालाई शुद्ध र नियमित पानी उपलब्ध गराउने बताए। उनले विश्व बैंकसँग सहकार्य गरेर दीर्घकालीन समाधानका लागि बजेट ल्याइएको उल्लेख गरे।
“मैले सानातिना योजनाभन्दा दीर्घकालीन प्रभाव पार्ने ठूला योजनामा ध्यान दिएँ,” नगरप्रमुख खड्काले भने, “त्यसको परिणामस्वरूप यो बृहत् खानेपानी आयोजना अघि बढेको हो।” उनका अनुसार आयोजनाले खानेपानी समस्या समाधानसँगै कृषि उत्पादन, सरसफाइ, स्वास्थ्य र समग्र जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ। वर्षौंदेखि पानीको अभाव झेल्दै आएका गोसेडा, तिखा र सिरखोलीका बासिन्दाका लागि यो योजना केवल खानेपानीको पहुँच मात्र नभई समृद्ध भविष्यको आधारका रूपमा हेरिएको छ।