बाजुरा : बाजुराको पूर्वोत्तर क्षेत्रमा पर्ने दानसाँगु खोलामा पुल निर्माण कार्य अन्तिम चरणमा पुगेपछि स्थानीयवासीमा खुशी छाएको छ। वर्षौंदेखि ज्यान जोखिममा राखेर खोला वारपार गर्न बाध्य कुण्डाबासी अब भने सहज आवतजावत गर्न पाउने भएका छन्।
मार्तडी–कोल्टी सडक खण्डअन्तर्गत पर्ने दानसाँगु खोलामा पुल नहुँदा स्थानीयले दैनिक उपभोग्य सामग्री ढुवानीदेखि यात्रासम्ममा ठूलो सास्ती खेप्दै आएका थिए। गत मंसिर ४ गते जडाङ्गा खोलामा रहेको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्ने निर्णयपछि अहिले पुल जडानको काम तीव्र रूपमा अघि बढाइएको हो।
बुढीनन्दा नगरपालिका–२ का स्थानीय दीपक विकले पुल निर्माण कार्य अन्तिम चरणमा पुगेसँगै स्थानीयमा आशा जागेको बताए। उनका अनुसार बुढीनन्दा, हिमाली, स्वामिकार्तिक र जगन्नाथ गाउँपालिकाका नागरिकलाई पुल सञ्चालनपछि ठूलो राहत पुग्नेछ।
“मार्तडी–कोल्टी सडकको सबैभन्दा ठूलो समस्या दानसाँगु खोलामा पुल नहुनु थियो। वर्षौंदेखि स्थानीयले दुःख भोग्दै आएका थिए, अहिले पुल बन्ने भएपछि सहज हुने विश्वास बढेको छ,” उनले भने।
स्थानीयका अनुसार हाल पुल निर्माण करिब ९५ प्रतिशत सम्पन्न भइसकेको छ। यस वर्षको वर्षायामदेखि नै सुरक्षित रूपमा खोला पार गर्न सकिने अपेक्षा गरिएको छ।
सडक डिभिजन कार्यालय अछामका इन्जिनियर सुभाष साहका अनुसार जडाङ्गा खोलाको बेलिब्रिज दानसाँगुमा स्थानान्तरण गर्न डिडिए/जनकल्याण जेभीसँग दुई करोड २० लाख रुपैयाँमा सम्झौता गरिएको हो। “निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। छिट्टै पुल सञ्चालनमा ल्याइनेछ,” उनले बताए।
बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनकबहादुर बोहराले पुल स्थानान्तरणका लागि लामो समयदेखि पहल गरिएको बताए। उनका अनुसार विभिन्न विवादका कारण काममा ढिलाइ भए पनि अहिले निर्माण कार्य तीव्र रूपमा भइरहेको छ।
“पुल सञ्चालनमा आएपछि स्थानीयको वर्षौंदेखिको समस्या समाधान हुनेछ,” नगर प्रमुख बोहराले भने। यसअघि कुण्डाबासीलाई नागरिकता लगायतका प्रशासनिक कामका लागि मार्तडी पुग्न कठिनाइ हुने गरेको थियो। दैनिक उपभोग्य सामग्री ढुवानी र आवतजावतमा समेत समस्या झेल्दै आएका स्थानीयले अब भने सहज सेवा पाउने अपेक्षा गरेका छन्।