कैलाली : कैलालीमा भूमिगत पानीको स्रोत सुक्न थालेपछि खानेपानीको अभाव देखिन थालेको छ। जिल्लाका विभिन्न ठाउँमा रहेका आर्टिजन बोरिङ र धारा सुक्न थालेपछि स्थानीयवासी शुद्ध खानेपानीको समस्यामा परेका हुन्।
गौरीगङ्गा नगरपालिका–झन्झटपुरकी जमुना चौधरीका अनुसार झन्झटपुर, चमरैया लगायतका क्षेत्रमा पछिल्लो समय पानीको स्रोत घट्दै गएको छ। उनले भनिन्, “अहिले धेरै सुक्खा नपर्दै पनि धेरै ठाउँमा पानी कम आउन थालेको छ।”
सामान्यतया जेठ–असार महिनामा तराई क्षेत्रमा भूमिगत पानीको स्रोत बढी सुक्ने गर्छ। विशेषगरी कृषकले बोरिङमार्फत पानी तानेर खेतीपाती सुरु गरेपछि पानीको सतह घट्ने अवस्था देखिने गरेको छ। तर यस वर्ष खेतीपातीको मुख्य समय सुरु हुनुअघि नै पानीको अभाव देखिन थालेको स्थानीय बताउँछन्।
विज्ञहरूका अनुसार चुरे क्षेत्रमा भइरहेको अत्यधिक दोहनका कारण भूमिगत जलस्रोतमा असर परेको हो। पछिल्लो समय जथाभाबी रूपमा डोजर प्रयोग गरी सडक खन्ने, ढुङ्गा, गिट्टी र बालुवा उत्खनन गर्ने कार्य बढ्दै गएको छ।
कैलाली बहुमुखी क्याम्पसका प्रमुख तथा वातावरणविद् डा. लोकबहादुर विष्टले चुरे विनाशका कारण जलस्तर घट्दै गएको बताए। उनले भने, “चुरे दोहनले जलस्तर घटिरहेको छ। भूमिगत पानीका स्रोत सुकिरहेका छन्। यसले समग्र पारिस्थितिक प्रणालीमा असर पारिरहेको छ। बेलैमा ध्यान नदिए समस्या झन् गम्भीर बन्न सक्छ।”