काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको स्वास्थ्य परीक्षण गर्ने प्रक्रिया प्रहरीले अघि बढाएको छ।
शनिबार बिहान भक्तपुरको गुण्डुस्थित ओली निवास र कटुन्जेस्थित लेखक निवासबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। हाल दुवै जनालाई जिल्ला प्रहरी परिसर भद्रकाली, काठमाडौंमा राखिएको छ।
परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार स्वास्थ्य परीक्षण नियमित प्रक्रिया अन्तर्गत गरिँदैछ। “स्वास्थ्य परीक्षण नियमित प्रक्रिया हो,” उनले बताए।
स्वास्थ्य परीक्षणपछि अवस्था सामान्य देखिएमा दुवै जनालाई आजै हिरासतमा राख्ने तयारी गरिएको छ। शनिबार सार्वजनिक बिदा परेकाले म्याद थपका लागि अदालतमा उपस्थित गराउन सम्भव नभएको प्रहरीले जनाएको छ। यसकारण उनीहरू आज हिरासतमा रहने सम्भावना उच्च रहेको छ।
हाल परिसरमै रहेका ओली र लेखक दुवैले कानूनी परामर्श प्रक्रिया अघि बढाएका छन्।
उनीहरूमाथि गत भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ का क्रममा हेलचेक्र्याइँ गरी ज्यान मारेको अभियोग लगाइएको छ। मुलुकी अपराध संहिताका दफा २८१, २८२ र २८३ अनुसार ‘हेलचेक्र्याइँ गरी ज्यान मार्न नहुने’ व्यवस्था रहेको छ।
उक्त घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो।