सीमामा भन्सार कडाइपछि महेन्द्रनगर बजारमा चहलपहल

कञ्चनपुर : नेपाल–भारत सीमामा भन्सार जाँच कडाइ गरिएपछि कञ्चनपुरको महेन्द्रनगर बजारमा किनमेल गर्नेहरूको चहलपहल बढेको छ भने सीमावर्ती भारतीय बजार वनबासाको व्यापार प्रभावित भएको छ।

गड्डाचौकी नाकामा सुरक्षा निकायले भारतबाट ल्याइने मालसामानमा कडाइ गरेपछि दैनिक उपभोग्य वस्तु खरिदका लागि वनबासा जाने क्रम घटेको हो। यसले नेपाली बजार महेन्द्रनगरका व्यवसायी उत्साहित बनेका छन्।

बिज्ञापन

गड्डाचौकी र आसपास क्षेत्रमा केही समययता सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी ले भन्सार जाँचमा कडाइ गर्दै रु १०० भन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य भन्सार राजस्व तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा लागू गरेका छन्।
महेन्द्रनगरका व्यवसायी इन्द्रबहादुर बम ले सीमामा भएको कडाइले नेपाली बजारमा व्यापार बढेको बताए। उनका अनुसार पहिले भारतीय बजारमा सामान सस्तो पाइने भन्दै दैनिक किनमेलका लागि पारि जाने प्रचलन थियो। तर यातायात खर्च र अन्य लागत जोड्दा मूल्य खासै फरक नपर्ने बुझाइ अहिले उपभोक्तामा बढ्न थालेको छ।

“सामान सस्तो भए पनि मोटरसाइकलको तेल र अन्य खर्च जोड्दा उस्तै पर्छ,” उनले भने, “भन्सार कडाइले नेपालमै व्यवसाय गर्ने वातावरण बलियो बनाउँछ।”

उता भारतीय बजार वनबासाका व्यापारीहरूले भने नेपाली उपभोक्ता घटेपछि व्यापार चौपट हुने अवस्था आएको बताएका छन्। वनबासाका एक विद्युत सामग्री पसलेका अनुसार गर्मीयाममा फ्रिज, कुलर, पङ्खाजस्ता सामग्री किन्न नेपाली ग्राहक दैनिक आउने गर्थे, तर अहिले निकै कमी आएको छ।

सशस्त्र प्रहरी बल ३५ नं गण शैलेश्वरी का गणपति प्रेमप्रकाश सिग्देल ले कृषकका लागि मल ल्याउने विषयमा सहजीकरण गरिए पनि अन्य सामानमा भन्सार दाखिला अनिवार्य रहेको बताए। उनका अनुसार सीमामा कडाइ गरेपछि भन्सार राजस्व संकलनसमेत बढेको छ।

“पहिले जस्तो सीमावर्ती बजारमा आउने–जाने क्रम घटेको देखिन्छ,” उनले भने, “घरायसी प्रयोजन भन्दै भन्सार नतिरी सामान ल्याउने गतिविधि अब रोकिनुपर्छ।”

सीमाबाट साइकलमार्फत क्यारिङ गरेर सामान ल्याउने गतिविधिसमेत बन्द भएको सुरक्षा निकायको दाबी छ। यता नेपाल–भारत मैत्री सङ्घ का महासचिव माधव जोशी ले सीमामा कडाइ गर्दा सुरुआतमा केही असहज भए पनि दीर्घकालमा स्वदेशी बजार र उत्पादनलाई फाइदा पुग्ने बताए।

“नेपालमा उत्पादन भएका वस्तुको प्रयोग बढ्नु सकारात्मक कुरा हो,” उनले भने, “यसले स्वदेशी उद्योग, व्यापार र रोजगारीलाई टेवा पुर्‍याउँछ।”
त्यस्तै कञ्चनपुर उद्योग वाणिज्य सङ्घ का अध्यक्ष दिनेश मल्ल ले भारतमा मजदुरी गरेर फर्किने नेपाली नागरिकलाई अनावश्यक दुःख दिन नहुने बताए। उनले क्यारिङ गरेर व्यापारिक रूपमा सामान ल्याउने गतिविधिमा भने कडाइ आवश्यक रहेको उल्लेख गरे। रासस

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

अपाङ्गता भएकै कारण अपमान गरेको आरोप लगाउँदै पत्रकारविरुद्ध उजुरी दिने तयारी

कञ्चनपुरमा २ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पोसिलो खाना नहुँदा बैतडीका वडैपिच्छे कडा कुपोषण