पोसिलो खाना नहुँदा बैतडीका वडैपिच्छे कडा कुपोषण

बैतडी : बैतडीमा पोसिलो खानाको अभावका कारण वडैपिच्छे कडा कुपोषित बालबालिका भेटिन थालेका छन् । वैशाख १५ गतेदेखि सुरु भएको राष्ट्रिय पोषण लेखाजोखा अभियानको पाँच दिनमै जिल्लाभर १५२ जना कुपोषित बालबालिका फेला परेका छन् । तीमध्ये १९ जना कडा कुपोषणबाट ग्रसित बालबालिकालाई उपचारको दायरामा ल्याइएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीका अनुसार वैशाख १५ देखि ३० गतेसम्म सञ्चालन हुने अभियानमार्फत छ महिनादेखि पाँच वर्षमुनिका करिब २२ हजार बालबालिकाको स्वास्थ्य परीक्षण गरिनेछ ।

बिज्ञापन

सिगास गाउँपालिका–२ गाँजरीमा मात्रै चार जना कडा कुपोषित बालबालिका भेटिएको स्वास्थ्य चौकी इन्चार्ज जनकसिंह धामीले जानकारी दिनुभयो । उहाँका अनुसार ती बालबालिकालाई उपचारसँगै पोषिलो खाना उपलब्ध गराउने काम सुरु गरिएको छ । सिगास गाउँपालिका देशकै अत्यधिक गरिब स्थानीय तहमध्ये एक मानिन्छ, जहाँ गरिबी दर ६६ प्रतिशतभन्दा बढी रहेको तथ्याङ्क छ ।

स्वास्थ्य कार्यालयका अनुसार गरिबी, खाद्य असुरक्षा र चेतनाको कमीका कारण कुपोषणको समस्या बढ्दो अवस्थामा छ । सूचना अधिकारी कार्कीले पाँच दिनमै १५२ जना कुपोषित बालबालिका भेटिनु “डरलाग्दो अवस्था” भएको बताउनुभयो । उहाँका अनुसार कुपोषित बालबालिकामा उमेरअनुसार उचाइ र तौल कम हुने तथा ख्याउटे अनुहार देखिने समस्या बढी पाइन्छ ।

अभियानले जातीय आधारमा समेत कुपोषणको अवस्था अध्ययन गरिरहेको छ । हालसम्म भेटिएका कुपोषित बालबालिकामध्ये ३७ प्रतिशत दलित समुदायका रहेको तथ्याङ्कले देखाएको छ ।
गत वर्ष जिल्लामा एक हजार ९३४ जना कुपोषित बालबालिका रहेको तथ्याङ्क थियो । तीमध्ये ३१२ जना कडा कुपोषित बालबालिकाले स्वास्थ्य संस्थाबाट उपचार पाएका थिए ।

स्वास्थ्य कार्यालय प्रमुख तीर्थराज भट्टले अभियान सञ्चालन मात्रले समस्या समाधान नहुने बताउँदै गरिबी न्यूनीकरण र सबैले पोसिलो खाना पाउने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पोषण भत्ता, सुत्केरी भत्ता तथा स्थानीय तहका पोषण कार्यक्रम प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।
जिल्लाका विभिन्न पालिकाले ‘सुत्केरीको घरमा झन्डा, हातमा अन्डा’ जस्ता कार्यक्रम सञ्चालन गरिरहेका भए पनि स्वास्थ्यकर्मीहरूका अनुसार यस्ता सीमित कार्यक्रमले मात्रै कुपोषण अन्त्य गर्न सम्भव छैन ।

बैतडीमा सन् २०१६ देखि सञ्चालन हुँदै आएको सुआहारा कार्यक्रम हाल बन्द भएको छ । युएसएआईडिको आर्थिक सहयोगमा सञ्चालित उक्त कार्यक्रमले गर्भवती महिला र दुई वर्षमुनिका बालबालिकाको पोषण सुधार गर्ने लक्ष्य राखेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको मौसम : देशभर वर्षाको सम्भावना

यस्तो छ आजकका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८३ साल वैशाख २८ गते सोमबारको राशिफल

बजेट सुझाव संकलनका लागि सरकारले ल्यायो डिजिटल पोर्टल

आजको माैसम : यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

बुढीगंगाका तत्कालीन मेयर शाहसहित १४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा बहस नोट पेस गर्न आदेश

सीमामा भन्सार कडाइपछि महेन्द्रनगर बजारमा चहलपहल

अपाङ्गता भएकै कारण अपमान गरेको आरोप लगाउँदै पत्रकारविरुद्ध उजुरी दिने तयारी

कञ्चनपुरमा २ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु