कञ्चनपुर : कञ्चनपुरका एक कर्मचारीले दुई पत्रकारले आफूलाई अपमानजनक व्यवहार गरेको आरोप लगाउँदै नेपाल पत्रकार महासंघमा उजुरी दिने तयारी गरेका छन्।
उनका अनुसार २०८३ वैशाख १७ गते दिउँसो करिब २:१५ बजे आफू कार्यालयमा सेवाग्राही किसानको काममा व्यस्त रहेका बेला कञ्चनपुरका पत्रकार रनि विवस र धन बहादुर बोहरा कार्यालयमा आएका थिए।
ती कर्मचारीका अनुसार सो समयमा कुखुरा व्यवसायी कृषकले पोष्टमार्टमका लागि ल्याएका मरेका कुखुराको परीक्षण गरी औषधि तथा आवश्यक परामर्श दिइरहेका थिए। त्यसपछि पत्रकारहरूलाई कार्यालय प्रमुखको कार्यकक्षमा बस्न आग्रह गरिएको उनले बताएका छन्।
पत्रकारहरूले विभिन्न सूचना तथा सामग्री माग गरेको र तत्काल उपलब्ध गराउन नसकिएको ती कर्मचारीको भनाइ छ। त्यसपछि कार्यालयमा रहेको ३० KVA जेनेरेटर, ब्याज अनुदान, अनुदान वितरण तथा भवन निर्माणलगायत विषयमा प्रश्न उठाइएको उनले बताएका छन्।
उनले पत्रकारहरूले आफ्नो कमजोर शारीरिक अवस्थाको फाइदा उठाउँदै अपमानजनक शब्द प्रयोग गरेको आरोप लगाएका छन्। “मेरो अपाङ्गता भएकै कारण अपमान गरिएको महसुस भएको छ,” उनले उल्लेख गरेका छन्।
घटनाप्रति गम्भीर आपत्ति जनाउँदै उनले नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखा मा निवेदन दिने र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउने बताएका छन्।