कैलाली : धनगढीका विभिन्न होटलबाट प्रहरीले ३० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले १७ जना महिला र १३ जना पुरुषलाई नियन्त्रणमा लिएको हो।
होटलहरूमा अवाञ्छित गतिविधि भइरहेको भन्ने स्थानीयस्तरबाट गुनासो आएपछि प्रहरीले अनुगमन तथा छापा अभियान सञ्चालन गरेको जनाएको छ।
सोही क्रममा विभिन्न होटलबाट होटल सञ्चालक, कर्मचारी तथा त्यहाँ रहेका व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको कैलाली प्रहरीका प्रवक्ता डिएसपी योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार धनगढीको मिलनचोकस्थित कर्णाली एण्ड लजबाट सञ्चालक र स्टाफसहित ८ जना पक्राउ परेका छन्।
यस्तै बसपार्कस्थित एभरेस्ट होटल, एलएनचोक नजिकको प्रिन्स होटल, क्याम्पस रोडको एएम एण्ड ए होटल, ब्ल्याक स्टोन कटेज तथा सम्झना होटलबाट पनि महिला र पुरुषलाई नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका सबै व्यक्तिहरू हाल प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि प्रचलित कानुनअनुसार अनुसन्धान भइरहेको डिएसपी तिमिल्सिनाले बताए।