बाजुराका किसानलाई असिनापानीको त्रास

बाजुरा : बाजुराका किसान यतिबेला असिनापानीको त्रासमा छन्। पाक्न थालेको गहुँबालीमा लगातार असिनापानी पर्न थालेपछि बाली नष्ट हुने चिन्ताले किसानहरू त्रसित बनेका हुन्।

गत कात्तिकमा लगाइएको गहुँ अहिले पाक्ने अवस्थामा पुगेको छ। यही समयमा दिनहुँजसो असिनापानी पर्न थालेपछि किसानहरू बाली सुरक्षित रूपमा घर भित्र्याउन सकिने वा नसकिने चिन्तामा परेका छन्। त्रिवेणी नगरपालिकाका स्थानीय मानबहादुर नेपालीले पाकेको गहुँबालीमा असिनापानीको जोखिम बढ्दै गएको बताए।

बिज्ञापन

उनले भने, “कात्तिकमा लगाएको गहुँ अहिले पाकेको छ। यही समयमा दिनदिनै असिनापानी पर्न थालेको छ। पाकेको बाली घरमा भित्र्याउन नपाउँदै नष्ट हुने हो कि भन्ने चिन्ता लागेको छ।”

उनका अनुसार असारको खेतीमा बाढीपहिरोको जोखिम रहने भए पनि हिउँदे खेतीमा असिनापानीले किसानलाई सधैँ चिन्तित बनाउने गरेको छ।
बाजुराका अधिकांश क्षेत्रमा यतिबेला गहुँबाली पाकेर पहेँलपुर भएको छ। खोला किनार र सिँचाइ सुविधा भएका स्थानमा चैत–वैशाखमै गहुँ पाक्ने गरेको छ भने पाखो क्षेत्रमा लगाइएको गहुँ वैशाख–जेठमा पाक्ने गर्दछ।

बुढीगङ्गा, त्रिवेणी, बडीमालिका, बुढीनन्दा, हिमाली, स्वामिकार्तिक खापर, जगन्नाथ तथा खप्तड छेडेदहलगायत क्षेत्रमा गहुँ खेती राम्रो हुने गरेको छ। स्थानीयका अनुसार बुढीगङ्गाका साविकका बह्रबिस, कुल्देवमाण्डौ तथा त्रिवेणीको कैलाशमाण्डौ क्षेत्रमा सबैभन्दा बढी गहुँ उत्पादन हुने गरेको छ।

यहाँका किसानले पासाङल्हामु, डब्लुके–१४४, डाँफेमुनाल तथा स्वर्गद्वारी जातका गहुँ लगाउने गरेका छन्। यद्यपि अधिकांश किसान अझै पनि स्थानीय पुराना जातकै बिउ प्रयोग गर्दै आएका छन्।
जिल्लाको कुल २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्र खेतीयोग्य रहेको छ। त्यसमध्ये पाँच हजार २३५ हेक्टरमा मात्रै वर्षभरि सिँचाइ सुविधा उपलब्ध रहेको तथ्यांक छ।

कृषि प्राविधिकहरूका अनुसार गहुँ हिउँदे बाली भएकाले हिउँदमा पर्याप्त वर्षा भए उत्पादन बढ्ने र वर्षा नभए उत्पादन घट्ने गर्छ। उन्नत जातको बिउ प्रयोगले उत्पादन वृद्धि गर्न सहयोग पुगेको उनीहरूको भनाइ छ।

कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीका अनुसार जिल्लामा १० हजार ४६० हेक्टर क्षेत्रफलमा गहुँ खेती हुँदै आएको छ। बाजुराबाट वार्षिक करिब १७ हजार ७८२ मेट्रिक टन गहुँ उत्पादन हुने गरेको उनले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

अत्तरिया खानेपानी अध्यक्षमा नन्दराज भट्टको उम्मेदवारी फिर्ता

अनमी कुट्ने बैतडीका स्वास्थ्य चौकी इन्चार्ज लुहार कारागार चलान

बैतडीमा १ सय १० हेक्टर वन क्षेत्र अतिक्रमीत

धनगढीका विभिन्न होटलबाट ३० जना पक्राउ

अनलाइनबाट देश भरिकै जग्गा रोक्का र फुकुवा बैंकबाटै

यूएईमाथि नेपालले संघर्षपूर्ण जित 

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षा

न्यूनतम ज्याला नपाएका कञ्चनपुरका मजदुर, महिलामाथि अझै ज्याला विभेद

आज २०८३ साल वैशाख १९ गते शनिबारको राशिफल