कैलाली : सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाले आयोजना गरेको कार्यक्रममा सरकारले प्रतिबन्ध लगाएको प्लास्टिकका फूल प्रयोग गरिएको विषय अख्तियारसम्म पुगेको छ। कानुन कार्यान्वयन गर्ने निकायले नै प्रतिबन्धित सामग्री प्रयोग गरेको भन्दै चौतर्फी आलोचना भएको छ।
सशस्त्र प्रहरीले चैत २२ गते २५औँ स्थापना दिवसका अवसरमा अत्तरियामा भव्य कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमस्थलको प्रवेशद्वार आकर्षक रूपमा सजाइए पनि मञ्च सजावटमा प्लास्टिकका फूलमाला प्रयोग गरिएको देखिएको थियो।
सरकारले प्लास्टिकजन्य सजावटी सामग्रीमा प्रतिबन्ध लगाइसकेको अवस्थामा सशस्त्र प्रहरी आफैंले सीमामा यस्ता सामग्री जफत गर्ने गरे पनि आफ्नै कार्यक्रममा प्रयोग भएको भन्दै टेन्ट व्यवसायी र फूल खेती गर्ने किसानहरूले असन्तुष्टि जनाएका छन्।
उक्त विषय जिल्ला प्रशासनसम्म पुगे पनि कारबाही नभएको भन्दै ‘दे, हिसाव दे’ नामक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय महेन्द्रनगरमा उजुरी दिएको हो। उजुरीमा आवश्यक छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरिएको छ।
उजुरीमा प्लास्टिकका फूल प्रयोग गर्ने व्यवसायीलाई कारबाही गरिएझैं सशस्त्र प्रहरीमाथि पनि समान कानुनी प्रक्रिया अपनाउनुपर्ने उल्लेख गरिएको छ। साथै, नम्बर ७ वैद्यनाथ बाहिनी सुदूरपश्चिम प्रदेश अत्तरियाका निमित्त बाहिनीपति दिगविजय सुवेदी र केही व्यापारीबीच मिलेमतोमा प्रतिबन्धित सामग्री, केरा, कुखुरा तथा फूलको चोरी पैठारीमा संलग्नता रहेको आरोपसमेत लगाइएको छ।
उजुरीकर्ताले सीमा सुरक्षामा खटिने सशस्त्र प्रहरी संगठनप्रति सम्मान रहे पनि केही कर्मचारीका कारण संगठनको छवि धुमिल भएको भन्दै दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रदेश कार्यालय महेन्द्रनगरका सूचना अधिकारी चेतराज भट्ट ले प्लास्टिकका फूल प्रयोग सम्बन्धी उजुरी दर्ता भएको पुष्टि गर्दै छानबिन प्रक्रिया अगाडि बढाइएको जानकारी दिए।
यता नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय अत्तरियाका सशस्त्र प्रहरी उपरीक्षक तथा सूचना अधिकारी लोकेन्द्र भट्ट ले भने मञ्च सजावटको जिम्मा टेन्ट व्यवसायीलाई दिइएको र उनीहरूले पुराना सामग्री प्रयोग गर्दा यस्तो भएको बताएका छन्।
उनले “हामीले आफैं खरिद गरेर ल्याएको होइन, टेन्ट हाउसले सजावट गर्ने क्रममा प्लास्टिकका फूल प्रयोग गरेको हो,” भन्दै सीमामा आयात प्रतिबन्ध भए पनि पुराना सामग्री व्यवसायीसँग हुन सक्ने बताए।
सुदूरपश्चिम इभेन्ट एसोसिएसनका सल्लाहकार विनोद मल्ल ले कानुन कार्यान्वयन गर्ने निकायबाटै यस्तो गतिविधि हुनु दुःखद भएको बताए। उनले सरकारले किसानलाई फूल खेतीमा आत्मनिर्भर बनाउन नीति ल्याइरहेको अवस्थामा यस्ता घटनाले किसानहरू निरुत्साहित भएको बताए।
उनका अनुसार प्रतिबन्ध लागू भएपछि व्यापारीहरूले कानुनी रूपमा भित्र्याएका प्लास्टिकजन्य सजावटका सामग्रीसमेत जफत गरिएको अवस्थामा सशस्त्र प्रहरीकै कार्यक्रममा त्यस्ता सामग्री प्रयोग हुनु गम्भीर विषय भएको बताए। उनले सम्बन्धित निकायले सार्वजनिक रूपमा माफी माग्नुपर्ने वा कानुनी कारबाही भोग्नुपर्ने धारणा राखे।