कैलाली : दलित महिला र किशोरीको मानव अधिकार प्रवर्द्धन गर्ने उद्देश्यले धनगढीमा सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ। दलित महिला संघ कैलालीको आयोजनामा सम्पन्न कार्यक्रममा परियोजनाअन्तर्गत सञ्चालन गरिएका गतिविधि, उपलब्धि तथा चुनौतीबारे छलफल गरिएको थियो।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले संघसंस्थाले गर्ने अध्ययन र त्यसबाट आउने निष्कर्षले स्थानीय सरकारलाई नीति तथा कार्यक्रम निर्माणमा सहयोग पुग्ने बताइन्। उनले धनगढी उपमहानगरपालिकाले दलित समुदायका बालबालिकाको शिक्षा लगायतका क्षेत्रमा विभिन्न नीति तथा कार्यक्रममार्फत काम गर्दै आएको जानकारी दिइन्।
त्यस्तै, गौरीगंगा नगरपालिकाका उपप्रमुख भोजबहादुर बमले दलित समुदायको उत्थानका लागि संस्थाले गरेका गतिविधि प्रशंसनीय रहेको उल्लेख गरे।
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख मानबहादुर कार्कीले मानव अधिकार हनन र सामाजिक विभेदबाट सबैभन्दा बढी दलित समुदाय प्रभावित हुने गरेको बताए। उनले विभेद न्यूनीकरणका लागि संघसंस्था र राज्यका निकायबीच समन्वय तथा सहकार्य आवश्यक रहेको धारणा राखे।
सो अवसरमा अधिवक्ता पुष्प विक्रम शाहीले संस्थाको सामाजिक परीक्षणसम्बन्धी प्रस्तुति राखेका थिए। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक अगुवा, महिला समूह तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
फाउन्डेसन फर जस्ट सोसाइटीको सहयोगमा सञ्चालित उक्त कार्यक्रमले समुदायमा सचेतना अभिवृद्धि गर्नुका साथै लक्षित समुदायको हकअधिकार सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।