विषादीरहित तरकारी उत्पादनमा कैलालीका किसान अग्रसर

कैलाली : कैलालीका विभिन्न क्षेत्रमा किसानहरू विषादीरहित प्राकृतिक तरकारी उत्पादनतर्फ आकर्षित भएका छन्। मानव स्वास्थ्य र माटोको दीर्घकालीन संरक्षणलाई ध्यानमा राख्दै यहाँका करिब १ सय ४० किसानले अर्गानिक तरकारी खेती सुरु गरेका हुन्।

विषादीयुक्त तरकारीले स्वास्थ्यमा पार्ने नकारात्मक असरबारे सचेत बनेपछि किसानहरू प्राकृतिक खेतीतर्फ लागेका हुन्। उनीहरूले आठ वटा कृषक समूह गठन गरी सामूहिक रूपमा तरकारी उत्पादन गरिरहेका छन्। टीकापुर नगरपालिका–१ को वनगाउँ र शंकरपुर, वडा नं. २ को राजीपुर र सीतापुर, वडा नं. ३ को घीया तथा वडा नं. ५ को नुक्लीपुरमा समूह बनाएर खेती भइरहेको छ।
वनगाउँस्थित असल चमेली कृषक समूहका अगुवा किसान मीनबहादुर चौधरीका अनुसार तीन वर्षदेखि विषादीरहित खेती अभ्यासमा ल्याइएको हो।

बिज्ञापन

“माटोको उर्वरा शक्ति जोगाउन, स्वस्थ उत्पादन लिन र जैविक प्रणाली संरक्षण गर्न हामी प्राकृतिक खेतीमा लागेका छौँ,” उनले भने, “पहिले अज्ञानतावश माटो र स्वास्थ्यमा असर पर्ने काम गरिरहेका रहेछौँ भन्ने महसुस भएपछि यो बाटो रोज्यौँ।”

किसानहरूले रासायनिक मल र विषादी प्रयोग नगरी घरमै तयार गरिने जैविक मल र झोल विषादी प्रयोग गरिरहेका छन्। झारपात, सडेगलेका तरकारी र पिसाब जस्ता सामग्री प्रयोग गरी मल तयार पारिन्छ। वनगाउँको समूहमा १५ जना किसान आबद्ध छन्, जसले पाँचदेखि १५ कट्ठासम्म जमिनमा खेती गर्दै आएका छन्।

हाल यहाँका बारीमा काक्रा, फर्सी, लौका, भिन्डी, खुर्सानी र टमाटर लगायतका तरकारी उत्पादन भइरहेका छन्। उपभोक्ताहरू पनि विषादीरहित उत्पादनप्रति आकर्षित हुँदै बारीमै पुगेर तरकारी खरिद गर्न थालेका छन्। बाँकी उत्पादन टीकापुर बजारको हाटबजारमा बिक्री हुने गरेको छ।

टीकापुर नगरपालिकाले अर्गानिक तरकारी बिक्रीका लागि हाटबजारमा छुट्टै स्टलको व्यवस्था मिलाएको छ। तर उत्पादन लागत बढी भए पनि बजारमा मूल्य समान हुँदा किसानहरू मर्कामा परेका छन्। किसान रुविना चौधरीले अर्गानिक र सामान्य तरकारीको मूल्यमा फरक हुनुपर्ने बताइन्।

“हामीले स्वास्थ्य र वातावरण जोगाउने काम गरिरहेका छौँ, तर मूल्य उस्तै हुँदा हाम्राे मेहनतको मूल्याङ्कन भएको छैन,” उनले भनिन्, “उपभोक्ता र सरकारले पनि यस्तो उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ।”

किसानहरूको आयआर्जन वृद्धि र उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि सेवक नेपाल नामक संस्थाले यस अभियानमा सहयोग गर्दै आएको छ। टीकापुर नगरपालिकासँगको सहकार्यमा संस्थाले किसानलाई बीउबिजन, प्रविधि तथा प्राविधिक ज्ञान उपलब्ध गराइरहेको छ।

परियोजना अधिकृत प्रेम चौधरीका अनुसार किसानलाई रासायनिक मल र विषादी प्रयोगबाट टाढा राख्न तथा स्थानीय स्रोतसाधन प्रयोग गरी जैविक मल बनाउन प्रशिक्षण दिइँदै आएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यो पनि पढ्नुहोस

आजको माैसम : यी भूभागमा भारी वर्षा र हावाहुरीको सम्भावना

आज २०८३ साल वैशाख १६ गते बुधबारको राशिफल

धनगढीमा मध्यराति बलात्कार आरोप लगाउने युवतीले जाहेरी दिइनन्, पक्राउ परेका युवक छुटे

मन्त्री सीता वादीले सार्वजनिक गरिन् नगर्ने कामका १० बुँदा: ‘नातावाद र भ्रष्टाचारलाई प्रश्रय दिन्नँ’

वन उपभोक्ता समुहहरु विभिन्न २४ बुँदे माग राख्दै धर्नामा

आजदेखि नयाँ शैक्षिकसत्र सुरु

धनगढीबाट ६ जना जुवाडे पक्राउ

अत्तरियामा सशस्त्रकै कार्यक्रममा प्रतिबन्धित प्लास्टिकका फूल प्रयोग, अख्तियारमा उजुरी

शुक्लाफाँटामा डिप ट्युबवेल जडानपछि किसान उत्साहित