कञ्चनपुर : कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३ कमरीका ५० वर्षीय हरिकिसन रानाको रहस्यमय मृत्यु प्रकरण एक वर्षपछि पुनः चर्चामा आएको छ। बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ पक्राउ परेसँगै प्रहरीले घटनाको अनुसन्धान फेरि अघि बढाएको हो।
गत वर्ष वैशाख ९ गते बेलौरी नगरपालिका–१० कलकत्ता बजार नजिकै शिवनगर क्षेत्रमा राना जलेको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलमा उनी सवार मोटरसाइकलसमेत जलेको अवस्थामा भेटिएको थियो।
उक्त घटनासम्बन्धी किटानी जाहेरीका आधारमा प्रहरीले बिहीबार साँझ महेन्द्रनगरबाट उपाध्यक्ष नाथलाई नियन्त्रणमा लिएको हो। उनलाई ज्यानसम्बन्धी मुद्दामा अनुसन्धानका लागि हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
मृतककी श्रीमती फिरिया देवी रानाले दिएको जाहेरीमा कृषि अनुदान र भैँसी पालनका लागि सरकारी बजेट मिलाइदिने प्रलोभन देखाएर ठूलो रकम लेनदेन भएको उल्लेख छ। सोही क्रममा करिब ४० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको र विवादका कारण हत्या गरिएको आरोप लगाइएको छ।
घटनापछि प्रारम्भदेखि नै परिवारले हत्या भएको दाबी गर्दै आएको थियो भने शंका उपाध्यक्ष नाथमाथि नै केन्द्रित थियो। तर, यसअघि गरिएको अनुसन्धानबाट उनको प्रत्यक्ष संलग्नता पुष्टि हुने ठोस प्रमाण फेला परेको थिएन।
प्रहरीका अनुसार घटनापछि विभिन्न कोणबाट अनुसन्धान गरिएको थियो। उपाध्यक्ष नाथसहित रानासँग आर्थिक कारोबार भएका व्यक्ति तथा भैँसी पालनसँग सम्बन्धित गरी सयभन्दा बढी व्यक्तिसँग बयान लिइएको थियो। तर, उक्त अनुसन्धानबाट नाथको संलग्नता पुष्टि हुने प्रमाण नभेटिएको जनाइएको छ।
यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले समेत घटनाबारे अनुसन्धान गरेको थियो। प्राविधिक तथा आर्सनिङ (आगलागी) सम्बन्धी परीक्षण, कल डिटेल रेकर्ड (सीडीआर) विश्लेषणलगायत विधिबाट अनुसन्धान गरी तीनवटा फाइल तयार पारिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक खडक बहादुर खत्रीका अनुसार नयाँ जाहेरीपछि पुरानै तथ्य र प्रमाणका आधारमा पुनः अनुसन्धान अगाडि बढाइएको छ।
“परिवारको किटानी जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिएका हौँ। अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ,” एसपी खत्रीले भने, “अघिल्लो अनुसन्धानका फाइलहरू समेत अध्ययन गरेर थप अनुसन्धान गरिनेछ।”
प्रहरीले घटनाको सत्यतथ्य पत्ता लगाउन पुराना प्रमाण र नयाँ बयान दुवैलाई आधार बनाएर अनुसन्धान अघि बढाएको जनाएको छ।