कञ्चनपुर : शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सँग जोडिएको शुक्लाफाँटा नगरपालिका–६ कसरौलस्थित नागेश्वर मध्यवर्ती सामुदायिक वन प्राकृतिक सौन्दर्यले भरिपूर्ण हुँदाहुँदै पनि योजना, पूर्वाधार र लगानी अभावका कारण ओझेलमा परेको छ। करिब ४८ हेक्टर क्षेत्रफलमा फैलिएको यस वन क्षेत्रमा साल, सिसम, खयर, असना जस्ता बहुमूल्य वनस्पति पाइन्छन्।
चित्तल, निलगाई, मयूर, वनकुखुरा, बाँदर लगायतका वन्यजन्तुको सुरक्षित बासस्थानका रूपमा रहेको यो वनमा कहिलेकाहीँ चितुवा र पाटेबाघसमेत देखिने स्थानीय बताउँछन्।
वनको समथर भूभाग, हरियाली मैदान, नजिकै बग्ने स्याली नदी र सिमसार क्षेत्रले यसलाई प्राकृतिक रूपमा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सक्ने सम्भावना बोकेको छ। बिहानको समयमा चराचुरुङ्गीको मधुर स्वर र मयूरको नृत्यले यहाँको वातावरणलाई अझ आकर्षक बनाउने गर्दछ।
सामुदायिक वनका पूर्वअध्यक्ष जयबहादुर ऐरका अनुसार योजनाबद्ध विकास गर्न सकिए नागेश्वर वन शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय केन्द्र बन्न सक्छ। “प्रकृति, वन्यजन्तु र संस्कृति एउटै ठाउँमा पाइने भएकाले यसको महत्व धेरै छ,” उनले भने।
यस क्षेत्रको अर्को विशेषता भनेको यहाँ बसोबास गर्ने राना तथा चौधरी थारू समुदायको मौलिक जीवनशैली हो।
परम्परागत घर, खानपान र सांस्कृतिक नृत्यले सांस्कृतिक पर्यटनको ठूलो सम्भावना देखाएको छ। यहाँ होमस्टे सञ्चालन गर्न सकिने अवस्था पनि रहेको स्थानीयको भनाइ छ।
स्थानीय धनबहादुर चौधरीका अनुसार प्रचारप्रसार र पूर्वाधार अभावकै कारण वन क्षेत्र पर्यटक आकर्षित गर्न सकेको छैन। पूर्व–पश्चिम महेन्द्र राजमार्गसँग जोडिएको सहज पहुँच हुँदाहुँदै पनि व्यवस्थित प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, सूचना बोर्ड र भ्यूटावरजस्ता आधारभूत संरचना छैनन्।
वन संरक्षणकर्मी कृष्णबहादुर ऐरले पदमार्ग निर्माण, बर्डवाचिङ टावर, सिमसार व्यवस्थापन, थारू सांस्कृतिक सङ्ग्रहालय र होमस्टे विकास गर्न सके यसलाई ‘शुक्लाफाँटा उद्यान’का रूपमा विकास गर्न सकिने बताए।
नजिकै रहेको हिरापुरको कृष्णसार संरक्षण क्षेत्र, तारा ताल लगायतका पर्यटकीय स्थलसँग जोडेर एकीकृत पर्यटन सर्किट निर्माण गर्न सकिने स्थानीयको सुझाव छ। यसले पर्यटकलाई एकै स्थानमा विविध अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।
यस किसिमको विकासले स्थानीय रोजगारी सृजना गर्ने, सामुदायिक वनको आम्दानी बढाउने तथा स्थानीय उत्पादन र हस्तकलाको बजार विस्तार गर्ने विश्वास गरिएको छ। साथै, जैविक विविधता संरक्षण र वातावरणीय सन्तुलन कायम गर्न पनि सहयोग पुग्नेछ।
वडा नं. ६ का अध्यक्ष दानबहादुर ऐरले स्थानीय तह, समुदाय र सम्बन्धित निकायबीच समन्वय हुन सके नागेश्वर वनलाई शुक्लाफाँटा क्षेत्रकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने बताए।
रासस