कैलाली : प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ। सेवा विस्तार र उपचार प्रणालीमा सुधार गरिएसँगै सेवाग्राहीको आकर्षण बढ्दै गएको चिकित्सालयले जनाएको छ।
मेडिकल सुपरिटेन्डेन्ट डा. ओपप्रसाद कलौनीका अनुसार पञ्चकर्म सेवा सुदृढीकरण, ओपिडी (बहिरङ्ग) सेवा विस्तार, स्वर्णविन्दु प्राशन, जीवनशैली व्यवस्थापन कार्यक्रम, ज्येष्ठ नागरिक लक्षित विशेष सेवा तथा विपन्नमैत्री नीति कार्यान्वयनका कारण बिरामीको चाप बढेको हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा २२ हजार ९१६ जनाले सेवा लिएका छन्, जुन गत आर्थिक वर्षको सोही अवधिको १६ हजार ३८० को तुलनामा करिब ४० प्रतिशतले बढी हो।
बालबालिका सेवाग्राहीको सङ्ख्यामा झनै उल्लेखनीय वृद्धि देखिएको छ।
पाँच वर्षमुनिका बालबालिकामा स्वर्णविन्दु प्राशन सेवाप्रति आकर्षण बढ्दै गएको छ। गत वर्षको सोही अवधिमा ६२ जना मात्र रहेका बाल सेवाग्राही संख्या चालु वर्षमा २०६ पुगेको छ।
ज्येष्ठ नागरिकको सेवाग्राही संख्या पनि ३६.८ प्रतिशतले बढेको छ। चिकित्सालयले ६० वर्षमाथिका नागरिकलाई ५० प्रतिशत र ७० वर्षमाथिकालाई शतप्रतिशत सेवा शुल्क छुट प्रदान गर्दै आएको छ। यसै कारण छुट रकम गत वर्षको एक लाख ३० हजार ७५ बाट बढेर चालु वर्षमा नौ लाख ७४ हजार २८५ पुगेको छ।
प्रयोगशाला सेवामा ३७.७ प्रतिशत वृद्धि भएको छ भने आधुनिक उपकरणमार्फत सेवा विस्तार गरिएकाले आम्दानीमा १२६ प्रतिशतले वृद्धि भएको चिकित्सालयले जनाएको छ।
हाल चिकित्सालयमा होमियोप्याथिक, प्याथोलोजी, ल्याब, एक्सरे, पूर्वकर्म, पञ्चकर्म, सिरोधारा, तथा छारसुत्र प्रविधिबाट पायल्स, फिसर र फिस्टुलाजस्ता रोगहरूको उपचार सेवा उपलब्ध छ।
सुदूरपश्चिम प्रदेशभर हाल एक प्रादेशिक आयुर्वेद चिकित्सालय, सात जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, एक महाकाली आयुर्वेद औषधालय, ४२ आयुर्वेद औषधालय र ३३ नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा रहेका छन्।