दार्चुला : श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने अभियानअन्तर्गत श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङ नेतृत्वको टोली दार्चुलाको विकट क्षेत्र व्यास गाउँपालिका–२ दुम्लिङ आउँदैछ।
महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पुल निर्माणका लागि प्रारम्भिक प्राविधिक अध्ययन भए पनि अन्तर्राष्ट्रिय सीमामा संरचना बनाउन दुई देशबीच सहमति आवश्यक पर्ने भएकाले सो योजना स्थगित गरिएको छ। त्यसपछि स्थानीय आवश्यकतालाई प्राथमिकता दिँदै काठा दुम्लिङको मल्लो दुम्लिङखोलामा झोलुङ्गे पुल निर्माण गर्ने निर्णय गरिएको हो।
इन्जिनियर डम्मर लिम्बूका अनुसार स्थलगत अनुगमन तथा नापजाँचपछि पुल निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिएको छ। सोही अनुसार चैत २४ गते हर्कराज साम्पाङ नेतृत्वको टोलीले पुलको शिलान्यास गर्ने योजना रहेको छ।
व्यास गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णानन्द बडूका अनुसार वर्षायाममा खोला तर्न समस्या हुँदा विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित हुने गरेका छन्। स्थानीयको यही समस्यालाई सम्बोधन गर्न पुल निर्माण आवश्यक ठहर गरिएको हो।
पुल निर्माणका लागि देश तथा विदेशबाट आर्थिक सहयोग संकलन भइरहेको छ। अभियानमार्फत हालसम्म एक करोड १२ लाख रुपैयाँ संकलन भइसकेको टोलीका सदस्य महेन्द्र पुनले जानकारी दिए। उनका अनुसार १५ जना श्रमदातासहितको टोली दार्चुला पुग्नेछ र आगामी असारसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। प्रस्तावित पुलको लम्बाइ करिब ८० मिटर हुनेछ।
राज्यको पहुँच कम पुगेको दुम्लिङ क्षेत्रमा यस्तो पहल सुरु भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन्। स्थानीय प्रभात बुढाथोकीका अनुसार उक्त पुलले विद्यार्थी आवतजावत, यार्चागुम्बा संकलन मार्ग तथा काठा दुम्लिङ, गोठान र कल्जु गाउँलाई जोड्नेछ। उनले पुल निर्माणमा स्थानीय पनि श्रमदान गर्न तयार रहेको बताए।