कैलाली : नेपाल क्रिकेट संघ (क्यान) ले आठौँ संस्करणको प्रधानमन्त्री कप (पीएम कप) मा आज सुदूरपश्चिम प्रदेशको टिमले पहिलो खेल खेल्दै छ । बिहान ९ बजे देखि सुरु हुने खेलमा सुदूरपश्चिम कर्णाली प्रदेशको टिम सँग भिड्ने छ । खेल पर्सामा रहेको टिबी शाह क्रिकेट ग्राउन्डमा हुने छ ।
त्यस्तै आजको दोस्रो खेल पनि बिहान ९ बजे देखि राम जानकी क्रिकेट ग्राउन्डमा कोसी प्रदेश र लुम्बिनी प्रदेश बिच हुने छ ।
प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् ।
‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् ।
पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २–२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ ।
एक दिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने छ ।