कैलाली : अनलाइन गेम खेलाउने बहानामा लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा गोदावरीका एक युवक पक्राउ परेका छन्। गोदावरी नगरपालिका–१ निवासी २५ वर्षीय सुवास भाटलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
वेदकोट नगरपालिकाकी एक महिलाले अनलाइन गेममार्फत ठगी भएको भन्दै उजुरी दिएपछि अनुसन्धान अघि बढाइएको थियो। अनुसन्धानका क्रममा ठगी गरिएको रकम भाटको बैंक खातामार्फत कारोबार भएको पाइएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार ती महिलाबाट करिब २ लाख ५० हजार रुपैयाँ ठगी गरिएको छ। भाटलाई इलाका प्रहरी कार्यालय सुखडको सहयोगमा पक्राउ गरिएको हो।
प्रारम्भिक अनुसन्धानले यो घटनामा ठूलो गिरोह संलग्न रहेको संकेत गरेको छ। उक्त गिरोहले फेसबुकमार्फत आकर्षक अफर देखाउँदै गेम खेलाएर ठूलो रकम जितेको झुटो आश्वासन दिने र पुरस्कार प्राप्त गर्न कर तिर्नुपर्ने भन्दै अग्रिम रकम असुल्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरी स्रोतका अनुसार गिरोहले लामो समयदेखि सामाजिक सञ्जाल प्रयोग गरी सर्वसाधारणलाई प्रलोभनमा पार्दै ठगी गर्दै आएको देखिएको छ। पीडित पक्षले सोमबार औपचारिक जाहेरी दर्ता गर्ने तयारी गरिरहेको र त्यसपछि अनुसन्धानलाई थप तीव्र बनाइने बताइएको छ।