कैलाली : स्थानीय तह पुनर्संरचना भएको झण्डै आठ वर्ष बित्न लाग्दा पनि कैलालीको गोदावरी नगरपालिकाका सबै वडाले आफ्नै भवन पाउन सकेका छैनन्। १२ वडा रहेको नगरपालिकामा हाल ६ वडा आफ्नै भवनबाट सञ्चालनमा छन् भने २ वडा एउटै भवनबाट सञ्चालन भइरहेका छन्। बाँकी ४ वडा भने अझै भाडाको घरमा सञ्चालनमा रहेका छन्।
वडा नम्बर २, ३, ६ र १० का कार्यालय अझै निजी घर भाडामा लिएर सञ्चालन गरिँदै आएको छ। वडा नम्बर २ ले आठ वर्षदेखि भाडामै कार्यालय चलाउँदै आएको छ। हाल भीमदत्त राजमार्ग किनारमा रहेको घरमा कार्यालय सञ्चालन भइरहेको छ। चालु आर्थिक वर्षमा भवन निर्माणका लागि ३० लाख बजेट विनियोजन गरिएको र उपभोक्ता समिति गठन गरी निर्माण प्रक्रिया अघि बढाइएको वडा सदस्य डबल साउँदले जानकारी दिए।
वडा नम्बर ३ मा पनि भवन निर्माण सुरु भए पनि बजेट अभावका कारण काम अलपत्र परेको छ। वडा अध्यक्ष तेजराज अवस्थीका अनुसार गत वर्ष ३५ लाख बजेटबाट ढलानसम्मको काम सकिए पनि त्यसपछि थप बजेट सुनिश्चित नभएकाले काम अघि बढ्न सकेको छैन।
त्यस्तै वडा नम्बर ६ विगत आठ वर्षदेखि नै भाडामै सञ्चालनमा छ। वडा सचिव अनिल चौधरीका अनुसार हाल मासिक करिब १५ हजार रुपैयाँ भाडा तिर्ने गरिएको छ र चालु वर्षमा भवन निर्माणको कुनै योजना छैन।
वडा नम्बर १० को भवन निर्माण प्रक्रिया भने सुरु भइसकेको छ। वडाध्यक्ष रवीन्द्र शाहीका अनुसार केही दिनमै भवनको शिलान्यास गर्ने तयारी भइरहेको छ।
नगरपालिकाका वडा नम्बर १, ४, ९ र १२ मा नयाँ भवन निर्माण भइसकेका छन् भने वडा नम्बर ५, ७, ८ र ११ पुराना गाविस भवनबाटै सञ्चालन भइरहेका छन्। वडा नम्बर १२ को भवन हालै सम्पन्न भई उद्घाटनको तयारीमा छ।
सुरुआती पाँच वर्षसम्म नगरपालिका कार्यालय नै भाडामा सञ्चालन गरिएको थियो। हाल भने एशियाली विकास बैंक (ADB) को ऋण सहयोगमा निर्माण गरिएको भवनबाट सेवा प्रवाह भइरहेको छ। उक्त भवन केही समयअघि आन्दोलनका क्रममा आगजनीमा परेपछि मर्मत गरी पुनः सञ्चालनमा ल्याइएको हो।
स्थानीय तह सुदृढीकरणका लागि आफ्नै भौतिक पूर्वाधार आवश्यक भए पनि गोदावरीमा अझै सबै वडाले स्थायी कार्यालय पाउन नसक्नु चुनौतीका रूपमा देखिएको छ।