कैलाली : कैलालीको टीकापुर नगरपालिका–७ स्थित सत्ती कर्णाली सामुदायिक वन बेत बाँस उत्पादनका लागि प्रख्यात बन्दै गएको छ। यहाँको सामुदायिक वनले बर्सेनि लाखौँ रुपैयाँ बराबरको बेत बाँस सङ्कलन गर्दै आएको छ, जसले वनको मुख्य आम्दानी स्रोतको रूपमा काम गरिरहेको छ।
वनले बेत बाँस सङ्कलनमार्फत दर्जनौँ स्थानीयलाई रोजगारी समेत उपलब्ध गराएको छ।
हाल काँचो बेत सङ्कलनको काम चलिरहेको छ र वनले प्रतिकेजी ११ रुपैयाँका दरले खरिद गर्दै आएको छ।
वनले यस वर्ष ३ हजार क्विन्टल बेत बाँस सङ्कलन गर्ने लक्ष्य राखे पनि कामदार अभावका कारण लक्ष्य भेटाउन कठिन भएको वन प्रमुख मीनबहादुर ठकुल्लाले बताए। “अहिलेसम्म करिब ९०० क्विन्टल मात्र सङ्कलन भएको छ,” उनले भने, “गत वर्ष पनि लक्ष्यअनुसार सङ्कलन हुन सकेको थिएन।” गत वर्ष वनले १ हजार ४०० क्विन्टल बेत बाँस सङ्कलन गरेको थियो।
वन क्षेत्रमा करिब १४६ हेक्टरमा बेत बाँस फैलिएको छ, जसमध्ये १० हेक्टरभन्दा बढी क्षेत्र कर्णाली नदी को कटानमा परिसकेको छ। वनलाई चार भागमा विभाजन गरी पाँच वर्षमा एक पटक एक भागबाट बेत सङ्कलन गर्ने प्रणाली अपनाइएको छ।
सामुदायिक वनका अध्यक्ष जितराम चौधरीका अनुसार वनले वार्षिक ७० देखि ८० लाख रुपैयाँसम्म बेत बाँस बिक्रीबाट आम्दानी गर्दै आएको छ। सो रकम उपभोक्ताको सेवामा खर्च गरिँदै आएको छ। वनले ज्येष्ठ नागरिकलाई कम्बल वितरण, बालबालिकालाई छात्रवृत्ति तथा मृतक परिवारलाई किरिया खर्च सहयोग उपलब्ध गराउँदै आएको छ।
सामुदायिक वनले काँचो बेत सुकाएर उपभोक्तालाई प्रतिकेजी ५० रुपैयाँमा उपलब्ध गराउने गरेको छ भने बाहिरी बजारमा प्रतिकेजी ९० रुपैयाँसम्म बिक्री हुन्छ। टेन्डरमार्फत भने मूल्य प्रतिकेजी १०५ रुपैयाँसम्म पुग्ने गरेको जनाइएको छ।
बजारमा बेत बाँसको माग उच्च भए पनि आपूर्ति पर्याप्त हुन सकेको छैन। टीकापुर क्षेत्रमा बेत बाँसका फर्निचर उत्पादन गर्ने दर्जनौँ उद्योग सञ्चालनमा छन्, जसका लागि कच्चापदार्थको मुख्य स्रोत यही सामुदायिक वन हो।
तर, कर्णाली नदी को निरन्तर कटानका कारण वन क्षेत्र खुम्चिँदै गएको छ, जसले दीर्घकालीन रूपमा उत्पादनमा असर पार्ने देखिएको छ।