काठमाडौं : ‘ऐरी’ फिल्मका निर्माताले १४ करोडभन्दा धेरै क्षतिपूर्तिको मागदाबीसहित अभिनेता धीरज मगरविरुद्ध चलचित्र निर्माता संघमा उजुरी दिएका छन् ।
निर्माता कम्पनी मल्टिमेट प्रालिका तर्फबाट कमलबहादुर आलेले दिएको उजुरी २ भदौमा संघमा दर्ता भएको अध्यक्ष नवल खड्काले जानकारी दिए । निर्माता आलेले अभिनेता मगरविरुद्ध कूल १४ करोड ७९ लाख ५१ हजार ९५३ रुपैयाँको क्षतिपूर्ति माग्दै उजुरी दिएका हुन् । सहमतिअनुसार धीरज छायांकनमा उपस्थित नहुँदा फिल्मलाई उक्त रकम बराबरको क्षति पुगेको उजुरीमा उल्लेख छ ।
१० लाख रुपैयाँ पारिश्रमिकमध्ये ४ लाख रुपैयाँ अग्रिम उपलब्ध गराएपनि धीरज सुटिङमा नआएको निर्माताले उल्लेख गरेका छन् । निर्माता संघमा उजुरी दिनुअघि कानून व्यवसायीमार्फत धीरजलाई लिगल नोटिस पठाइएपनि उनी सम्पर्कमा नआएको समेत जनाइएको छ ।
धीरजले १६ दिनमात्र ‘ऐरी’को छायांकन गरेको तर, सहमतिअनुसार बाँकी २८ दिन नआएको निर्माताको भनाई छ । उजुरी दायर भएपछि संघमा दुबै पक्षलाई बोलाएर मिलापत्रको प्रयास गरिने अध्यक्ष खड्काले बताए । ‘मिलापत्र नभए उहाँहरू कानूनअनुसार अघि बढ्नुहुन्छ’ उनले भने ।
हालै झण्डै एक महिना ढोरपाटन क्षेत्रमा ‘ऐरी’को छायांकन चलेको थियो । झण्डै १ वर्ष छायांकन चल्ने बताइएको यो फिल्मको सुटिङ अहिले रोकिएको छ । पछिल्लो समय निर्माता संघमा लेनदेन र आर्थिक कारोबार सम्बन्धी उजुरी आउने क्रममा वृद्धि भएको निर्माता संघले जनाएको छ ।