कैलाली : कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी गुल्मभित्र प्रवेश गरेर सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रदीप पौडेलसहितमाथि आक्रमण गरेको घटनामा संलग्न आरोपमा पक्राउ परेका एक जनालाई कारागार चलान गरिएको छ।
जिल्ला अदालत कैलालीले बिहीबार थुनछेक बहसपछि टीकापुर नगरपालिका–९ का ४० वर्षीय रामबहादुर साउदलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो। अदालतको आदेशलगत्तै उनलाई सोही दिन कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाका अनुसार डीएसपी पौडेलले साउदसहितका व्यक्तिविरुद्ध अपराधिक उपद्रव मुद्दा दर्ता गराएका थिए। उक्त घटनामा साउदसहित अन्य पाँच जनाविरुद्ध पनि किटानी जाहेरी परेको छ।
हाल फरार रहेका टीकापुरकै नयन साउद, सर्पराज साउद, सुरेश खड्का, रमेश खड्का तथा भारतको लखिमपुरखिरी निवासी रशिद आलिखानको खोजी भइरहेको प्रहरीले जनाएको छ। उनीहरू पक्राउ परेपछि थप कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ।
घटनाको पृष्ठभूमि हेर्दा सशस्त्र प्रहरीले जिएसटी बिल र भारतीय भन्सार पास भएका टीकापुरका व्यवसायीका सामान जफत गरेपछि विवाद उत्पन्न भएको थियो। सोही विषयमा आपत्ति जनाउँदै टीकापुर उद्योग वाणिज्य संघको टोली छलफलका लागि गुल्म पुगेका बेला विवाद चर्किँदै डीएसपीसहितका सुरक्षाकर्मीमाथि आक्रमण भएको थियो। घटनापछि सशस्त्र प्रहरीले बिल–बिजक परीक्षण गर्दा कागजात सही भेटिएपछि उद्योग वाणिज्य संघमार्फत सम्बन्धित व्यवसायीलाई सामान फिर्ता गरिएको थियो।
यता, घटनाका क्रममा ड्युटीमा खटिएका डीएसपीसहितका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानेर छानबिन प्रक्रिया पनि अघि बढाइएको छ।