दार्चुला : दार्चुला जिल्लाका ग्रामीण क्षेत्रमा तीव्र गतिमा विद्युतीकरण भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालन भइरहेको दार्चुला–डोल्पा ग्रामीण विद्युतीकरण आयोजनामार्फत जिल्लाका सबै नौवटै स्थानीय तहमा विद्युत् विस्तारको काम अघि बढाइएको हो।
दार्चुला वितरण केन्द्रका सहायक प्रमुख रौशनकुमार ठाकुरका अनुसार जिल्लाका करिब २९ हजार घरधुरीमध्ये हालसम्म २२ हजार ५ सय घरधुरीमा विद्युत् पहुँच पुगिसकेको छ। थप २ हजार ५ सय घरधुरीमा विद्युत् विस्तारका लागि लाइन निर्माण कार्य सम्पन्न भइसकेको र प्रसारणको अन्तिम तयारी भइरहेको उनले जानकारी दिए।
बाँकी घरधुरीमा विद्युत् पुर्याउन आवश्यक बजेट माग गरिएको छ। बजेट स्वीकृत भएपछि मुख्य तथा शाखा लाइन निर्माण कार्य अघि बढाइने बताइएको छ। यसअघि जिल्लामा २ सयभन्दा बढी ट्रान्सफर्मरमार्फत विद्युत् वितरण हुँदै आएकोमा हाल आयोजनामार्फत थप ट्रान्सफर्मर जडान गरिएका छन्।
यसैबीच, नेपाल–भारत सीमावर्ती व्यास गाउँपालिका–२ मालगाउँमा राष्ट्रिय प्रसारण लाइन विस्तार गरी १५ घरधुरीमा विद्युत् पुर्याइएको छ। स्थानीय जनकसिंह धामीले लामो समय अन्धकारमा बिताएका रातपछि गाउँमा बिजुली बलेकोमा खुसी व्यक्त गरेका छन्।
महाकाली नगरपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकालगायत अधिकांश स्थानमा विद्युतीकरण अन्तिम चरणमा पुगेको छ। व्यास, मार्मा, नौगाड र अपि हिमाल गाउँपालिकामा पनि काम तीव्र रूपमा भइरहेको छ।
हाल दार्चुलामा करिब ७५ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुगेको छ। “बाँकी घरधुरीमा पनि छिट्टै विद्युत् पुर्याउने लक्ष्यका साथ काम भइरहेको छ,” सहायक प्रमुख ठाकुरले बताए।
दार्चुलामा हाल शैल्यशिखर नगरपालिकाको बलाँच, महाकाली नगरपालिकाको थालिगाड र मार्मा गाउँपालिकाको सेलबिसा गरी तीनवटा सबस्टेसनमार्फत विद्युत् वितरण भइरहेको छ।