काठमाडौं : अभिनेता दिपकराज गिरीले आफूलाई फोन र म्यासेजमा धम्की आएको बताएका छन् । जेन – जेडको पक्षमा लागेको भन्दै गिरीलाई धम्की आएको हो ।
गिरीले फेसबुकमा लामो स्टाटस लेख्दै भनेका छन्, ‘जेड जेडलाई उकास्ने तँ रु कलाकार भएर जेन – जेड तिर लाग्ने रु एक एक हिसाब राखिन्छ ।’
केही कलहरु रेकर्ड समेत गरेर राखेको गिरीले बताएका छन् । आन्दोलनका क्रममा साना साना बालकहरुको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखेपछि कोही मान्छे पनि चुप लागेर बस्न सक्ने अवस्था नभएको उनले बताएका छन् ।
आफू लगायत धेरै कलाकारले थप हिंसा रोक्नलाई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेको, कतिजना कलाकार त सडकै उत्रिएको समेत उल्लेख गरेका छन् । तर प्रधानमन्त्रीको राजीनामा ढिला आइरहेका कारण हिंसा झनै भड्किएको उनले उल्लेख गरेका छन् । साथै हिंसा भड्किएपछि आन्दोलनमा घुसपैठ भएको र सरकार विरोधी पार्टीका कार्यकतर्ताहरु समेत देखिएको समेत बताएका छन् ।
‘स्वार्थ समूह आन्दोलनमा घुसे पनि आन्दोलन सफल भयो । तर त्यो विध्वंशले कसैको मन खुसी भएन । मन भारी भइरह्यो,’ उनले लखेका छन्, ‘यसमा सबै पक्षको केही न केही गलती भएको छ, तर सरकार पक्षीय मानिसहरु यसको आडमा आफ्नो गल्ती महसुस गर्न छाडेर एक एकलाई छाडिने छैन भनेर स्टाटस लेख्न थालेको देखेँ । मलाई भएको धम्कीपूर्ण म्यासेज र कलको कुरा त गरिहालेँ ।’
आफू यस्ता धम्कीबाट कत्ति पनि विचलित नहुने भन्दै उनले २०४६ सालको जनआन्दोलनको प्रसङ्ग कोट्याएका छन् । त्यसवेला आफू सडकमै भएको र २०६२र६३ सालमा पनि आफ्नो पेशालाई धरापमै राखेर परिवर्तनको पक्षमा उधिएको बताएका छन् ।