कैलाली : खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले आर्थिक वर्ष २०८१८२ को नौमासिक अवधिमा (श्रावणदेखि चैत्रसम्म)१५ लाखभन्दा बढी राजस्व संकलन गरेकाे छ।
२१८ वटा उद्योग सिफारिस र अनुज्ञापत्र जारी: उक्त अवधिमा २१८ वटा खाद्य तथा दाना उद्योगलाई सिफारिस, अनुमति पत्र जारी तथा नविकरण गरिएको छ। यसमध्ये २७ वटा नयाँ उद्योगलाई अनुमति दिइएको, १३३ वटा उद्योग नविकरण गरिएको र ६१ उद्योग दर्ताका लागि सिफारिस गरिएको हो। संवेदनशील खाद्य वस्तुहरू उत्पादन गर्ने उद्योगहरूमा ४५ पटक स्थलगत अनुगमन गरिएको थियो।

होटल तथा बजार अनुगमनमा तीव्रता: कार्यालयले होटल, रेस्टुरेन्ट तथा खाद्य बजारमा स्वच्छता अनुगमनमा सक्रियता देखाउँदै ८७ पटक होटल तथा रेस्टुरेन्ट निरीक्षण र १३४ वटा खाद्य तथा दाना उद्योगको नियमन गरेको छ। मिसावटयुक्त, म्याद गुज्रेका तथा विषादीयुक्त खाद्य वस्तुहरू जफत गरी नष्ट गरिएको जनाइएको छ।यसरी अनुगमनका क्रममा पसल तथा होटल रेस्टुरेन्टहरुलाई स्वच्छता सुधारका लागि परामर्श दिने र उपभोग्य अवधि समाप्त भएका तथा गुणस्तरहीन खाद्य वस्तु जफत गरी नष्ट गर्ने र आवश्यक कारवाही प्रकृया अघि बढाई नियमन कार्य गरी गरिएको छ । हाल सम्म १३ लाख मुल्य बराबरको विभिन्न उपभोग्य मिति सकिएको, मिसावट पाइएको, खाद्य स्वच्छता कायम नभएको, दुषित तथा न्यूनस्तरको खाद्य पदार्थहरु जफत गरी नष्ट गरिएको छ। यस्ता खाद्य पदार्थहरुमा पाउरोटी, डुनट, अखाद्य रंग, कोला, मिठाइ, सस, मसला, रङ्ग मिसाइएको दाल, सुजि, मह, चामल, विषादीको अवशेष अत्याधिक रहेको आँप, दुध रहेका छन्।
२१९ नमूना संकलन, १५८७ नमूनाको विश्लेषण: खाद्य ऐनअनुसार २१९ वटा खाद्य नमूना संकलन गरिएकोमा १५८७ वटा नमूनाको प्रयोगशालामा विश्लेषण गरिएको छ। विषादीको अवशेष, अखाद्य रङ्ग मिसावटजस्ता स्वास्थ्यमा प्रतिकूल असर पार्ने सामग्रीहरू पत्ता लागेका थिए।
९ वटा मुद्दा दायर, ११ वटा मुद्दाको टुंगो : खाद्य तथा दाना ऐन अनुरुप संकलन गरिएका नमूनाहरुमध्ये प्रतिकुल पाइएका नमूनाहरु उपर कारवाही प्रकृया अधि बढाइएको छ । गत आ।व। देखि लगत सरि आएका जम्मा २५ उद्योगी व्यवसायीहरुसंग बयान लिने, घटना विवरण कागज गर्ने, जिल्ला सरकारी बकील कार्यालयबाट निर्णय निकासा लिने कार्य अघि बढिरहेको छ। यस अवधिमा अनुसन्धान प्रकृया पुरा भएका प्रतिकूल नमूना उपर खाद्य निरिक्षण अधिकारीबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा ५ वटा, जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा १ वटा, कैलाली जिल्ला अदालतमा २ र कञ्चनपुर जिल्ला अदालतमा १ गरी जम्मा ९ बटा प्रतिकूल नमूना उपर मुद्दा दायर गरिएको छ। बिगतमा दायर गरिएको मुद्दाहरुमा ११ वटा विभिन्न मुद्दाको फैसला भएको छ जसमा विभिन्न कसुरमा रु. ५००० देखि रु.२५००० सम्म जरिवाना गरिएको र महको मुद्दामा २५ दिनको कैदको फैसला भएको छ।
विषादीयुक्त आँप, मिसावटयुक्त दाल नष्ट : बजार नियमनको क्रममा करिब २३०० किलोग्राम विषादीयुक्त आँप र ३४५० किलोग्राम रङ्ग मिसाइएको कालो दाल जफत गरी नष्ट गरिएको छ। त्यस्तै, १६ जना भारतीय नागरिकद्वारा बेचिएको १००० किलोग्राम दुषित मह पनि नष्ट गर्दै कानुनी प्रक्रिया अघि बढाइएको छ।
मोबाइल फूड ल्याबको प्रयोग सुरुवात: हालै काठमाडौंबाट हस्तान्तरण भएको ‘मोबाइल फूड ल्याब’ को प्रयोग सुरुवात गर्दै कार्यालयले खाद्य वस्तुको स्थलमै परीक्षण गरी तत्काल प्रतिवेदन दिने कार्य प्रारम्भ गरेको छ।
राजस्व संकलन र जनचेतना अभिवृद्धि: अनुज्ञापत्र, सिफारिस तथा नमूना परीक्षण दस्तुरमार्फत नौ महिनामा कुल १५ लाख ६० हजार रुपैयाँ राजस्व संकलन गरिएको छ। कार्यालयको वित्तीय प्रगति ८९.१२% रहेको छ। साथै, स्कुल विद्यार्थीदेखि उपभोक्ता समूहसम्मका ३ हजारभन्दा बढी सरोकारवालालाई खाद्य सुरक्षासम्बन्धी सचेतना कार्यक्रममार्फत जानकारी प्रदान गरिएको छ।
गुनासो सम्बोधनमा चाँडो प्रतिक्रिया : नौमासिक अवधिमा उपभोक्ताबाट आएका ९ वटा गुनासोलाई सम्बोधन गर्दै कार्यालयले तीब्र प्रतिक्रिया जनाएको छ।खाद्य अनुसन्धान अधिकृत तथा सूचना अधिकारी सुमन लामिछानेले जनाएअनुसार, खाद्य सुरक्षासँग प्रत्यक्ष सरोकार राख्ने प्रत्येक पक्षलाई नियमन, अनुगमन र सचेतना कार्यक्रममार्फत थप जिम्मेवार बनाउने प्रयास गरिएको छ।