काठमाडौँ : भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा बिटेक तेस्रो सेमेस्टर अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युले विदेशमा अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षा र क्याम्पस प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
क्याम्पसको छात्रावासमै रहेर अध्ययन गरिरहेकी प्रकृति फेब्रुअरी १६ को साँझ मृत भेटिएकी थिइन् । उनको शंकास्पद मृत्युपछि केआइआइटी प्रशासनले नेपाली विद्यार्थीहरूप्रति देखाएको उदासीनता र कठोर व्यवहारले विद्यार्थीको सुरक्षा र अधिकारको प्रश्नलाई अझ पेचिलो बनाएको हो ।


लम्सालको मृत्युपछि क्याम्पस प्रशासनले विज्ञप्ति जारी गर्दै उक्त घटना दुर्भाग्यपूर्ण भन्दै अनुसन्धानका लागि प्रहरीलाई जिम्मा दिएको जानकारी गराएको थियो । लम्सालका साथीहरूले उनका पूर्वप्रेमी अद्विक श्रीवास्तवले निरन्तर मानसिक यातना दिएको र श्रीवास्तवको दुव्र्यवहारकै कारण उनले आत्महत्या जस्तो कठोर कदम उठाउन बाध्य भएको आरोप लगाएका छन् ।
रुपन्देहीकी प्रकृतिका आफन्त (दाजु) सिद्धान्त सिग्देलका अनुसार अद्विकले आफूलाई मानसिक यातना दिएको भन्दै क्याम्पस प्रशासनमा २ पटक उजुरीसमेत दिएकी थिइन् । क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध अधिकारीसमक्ष उजुरी दिएकामा कुनै कानुनी कारबाहीबिना उनलाई उन्मुक्ति दिएकाले दुःखद् घटना भएको बताइएको छ ।
प्रकृतिमाथि अन्याय भएको र क्याम्पस प्रशासनले घटनाक्रम लुकाउन खोजेको बताउँदै विद्यार्थीहरू आन्दोलनमा उत्रिएपछि केआइआइटी प्रशासनले प्रहरी परिचालन गरी विद्यार्थीमाथि दमन गरेको भिडियो सामाजिक सञ्जालमा आएको छ भने क्याम्पस प्रशासनका २ जना व्यक्तिले नेपाली विद्यार्थीलाई हेय भावमा गालीगलौज गरेको भिडियो समेत बाहिरिएको छ । यसलगत्तै केआइआइटी प्रशासनले अर्को सूचना जारी गर्दै ‘सिने डाई’ (अनिश्चितकालीन बन्द) घोषणा गर्दै सम्पूर्ण नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न निर्देशन दियो । करिब ५०० भन्दा बढी नेपाली विद्यार्थीलाई कलेजबाट बाहिर निकालिएको र विद्यार्थीहरूलाई कटक रेलवे स्टेसन पुर्याएको भिडियो बाहिरिएपछि नेपालको प्रतिनिधिसभादेखि भारतीय राजदूतावासको माहोल तातिएको थियो ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा प्रकृति लम्सालको रहस्यमय मृत्यु र नेपाली विद्यार्थीहरूमाथि भइरहेको दमनको बारेमा रास्वपा सांसद सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवा, शिक्षामन्त्री विद्या भट्टराईको ध्यानाकर्षण गराउन समय माग गरेकी थिइन् । तर, सभामुख देवराज घिमिरेले उनलाई समय नदिएपछि उनी लगत्तै बैठकबाट बाहिरिएर सञ्चारमाध्यममार्फत् आफूलाई विद्यार्थीहरूले पठाएको भ्वाइसमेल सुनाउँदै नेपाली विद्यार्थीहरू प्रहरी दमनमा परेको, उनीहरूलाई जबरजस्ती क्याम्पस छाड्न लगाइएको जानकारी दिँदै सम्बन्धित व्यक्तिहरूको ध्यानाकर्षण गराएकी हुन् ।
यसरी प्रतिनिधिसभाले भारतमा अध्ययन गरिरहेका विद्यार्थीहरूले भोगिरहेको दमनमाथि देखाएको उदासीनताले पनि उनीहरूको सुरक्षालाई लिएर थप प्रश्न सिर्जना गरेको छ ।
सामाजिक सञ्जालबाट प्राप्त भिडियोमा केआइआइटीका २ पदाधिकारीले विद्यार्थीहरूलाई धम्क्याउँदै अपमानजनक शैलीमा ‘हामी ४० हजारभन्दा धेरै विद्यार्थीहरूलाई निःशुल्क पढाइरहेका छौँ । त्यति त तिमीहरूको देशको बजेट पनि छैन’ भनेको सुन्न सकिन्छ । उक्त भिडियो सामाजिक सञ्जाल र मिडियामा समेत आएपछि उत्पन्न भएको चौतर्फी विरोधपछि प्रधानमन्त्री ओलीले घटनाप्रति दुःख व्यक्त गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासलाई विद्यार्थीहरूको सुरक्षाका लागि आवश्यक पहल गर्न निर्देशन दिएका छन् । परराष्ट्रमन्त्री राणाले पनि घटनाबारे कूटनीतिक पहल भइरहेको बताइन् ।
यस घटनालाई लिएर नेपालका विद्यार्थी संगठनहरूले सशक्त रूपमा विरोध गर्दै प्रकृति लम्सालका लागि न्याय माग गर्दै भारतीय राजदूतावास परिसरमा आन्दोलन गरेका छन् । नेपाल विद्यार्थी संघले प्रेस विज्ञप्ति जारी गर्दै केआइआइटीको ‘निर्मम र गैरजिम्मेवार’ व्यवहारको कडा निन्दा गर्दै प्रकृति लम्सालको मृत्युबारे स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने, दोषी विद्यार्थी र प्रशासनिक अधिकारीविरुद्ध कानुनी कारबाही हुनुपर्ने, भारतका कलेज तथा विश्वविद्यालयहरूमा नेपाली विद्यार्थीहरूको सुरक्षा प्रत्याभूति तथा केआइआइटी प्रशासनबाट औपचारिक रूपमा माफी माग्नुपर्ने माग गरेको छ । त्यस्तै, अनेरास्ववियु र अखिल (क्रान्तिकारी) ले पनि कडा विरोध जनाउँदै कलेज प्रशासनको ‘असंवेदनशील’ व्यवहारको भत्र्सना गरेका छन् ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै केआइआइटी प्रशासनसँग छलफल गरेको र नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । दूतावासका अनुसार क्याम्पस प्रशासनले विद्यार्थीहरूलाई होस्टलमै बस्न अनुमति दिने तथा कक्षा सञ्चालनको व्यवस्था मिलाउने आश्वासन दिएको छ । दूतावासको आश्वासनले मात्रै विद्यार्थीहरूको सुरक्षामाथि उठेको गम्भीर प्रश्नहरूको जबाफ दिँदैन ।
विवाद बढ्दै गएपछि केआइआइटी प्रशासनले तेस्रो पटक विज्ञप्ति जारी गर्दै मृतक लम्साल र आरोपी विद्यार्थीबीच प्रेम सम्बन्ध रहेको र सोही कारण उक्त घटना भएको जनाएको छ । घटनाको सम्पूर्ण अनुसन्धान प्रहरीलाई सुम्पिएको जानकारी दिँदै क्याम्पस प्रशासनले नेपाली विद्यार्थीहरूले आन्दोलन चर्काएपछि क्याम्पसको नियम तथा व्यवस्थामा समस्या आएको दाबी गर्दै उनीहरूलाई स्वेच्छिक रूपमा घर फर्कन आग्रह गरिएको बताएको छ । तर, भिडियोमा देखिएको महिला पदाधिकारीहरूको अपमानजनक शब्द र क्याम्पस प्रशासनले जारी गरेको विज्ञप्ति नै आपसमा मेल खाँदैन । एकातिर २४ भन्दा धेरै प्रहरी परिचालन गरी आन्दोलनरत नेपाली विद्यार्थीहरूलाई कुटपिट गरिएको छ, जबरजस्ती क्याम्पस निकाला गरिएको छ ।
३० किलोमिटर टाढा रहेको कटक रेलवे स्टेसनमा लगेर अलपत्र पारिएको छ । अर्कातिर चौथो पटक विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनले अध्यापन नियमित हुने हुँदा नेपाली विद्यार्थीहरूलाई पनि आफ्नो अध्ययन कार्य निरन्तर गर्न आदेश दिएको छ । यसरी प्रशासनको दमन, लापरबाहीको सिकार बनेका नेपाली विद्यार्थी आगामी दिनमा केआइआइटीमा सुरक्षित महसुस गरी अध्ययन गर्न सक्लान् ? भन्ने प्रश्नको उत्तर सरोकारवालासँग छैन ।