कैलाली : अत्तरिया उद्योग वाणिज्य संघमा नयाँ मनोनित गरिएका ६ जना सदस्यलाई राखेर कुनै पनि निर्णय नगर्न उच्च अदालत दिपायलले अन्तरिम आदेश दिएको छ । संघका केही पदाधिकारी सहित ११ जनाले राजीनामा दिएपछि अध्यक्ष कल्याण सिँ बोहराले सदस्य पदमा ६ जनालाई मनोनित गरेका थिए ।
तर शुक्रबार उच्च अदालत दिपालयका न्यायाधीस डण्डपाणि शर्माको एकल इजलासले मनोनित गरिएका ६ जना सदस्यको उपस्थितिमा बैठक बस्ने र निर्णय गर्ने समेतका कार्य नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।


अदालतले माघ २० गतेसम्मका लागि अल्पकालिन अन्तरिम आदेश दिएको छ । त्यसपश्चात अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने सम्बन्धमा दुवै पक्षको छलफल सुनेर निर्णयमा पुगिने बताईएको छ । संघका केही पदाधिकारी सहितका ११ जना सदस्यहरुले राजिनामा दिएपछि संघका अध्यक्ष बोहराले यही पुस २८ गते ६ जनालाई सदस्यमा मनोनित गरेका थिए ।
उनले संघको विधान २०७१ को परिच्छेद ४ को दफा १४ को बुँदा नं. ५ बमोजिम रिक्त रहेका सदस्यको पद मनोनित गरेको बताएका थिए । तर मनोनितको विषयमा उच्च अदालतमा मुद्धा परेको थियो । उक्त मुद्धामा अधिवक्ता दिपकराज जोशीले बहस गरेका थिए ।