कैलाली : डोटीको दिपायल सिलगढी नगरपालिका–३ का मानबहादुर भुल (७१) ले थातथलोमा परिवारसँगै बसेर दशैं मनाउन नपाएको पाँच वर्ष बित्यो । यसपालि भने उनी छोराबुहारी, नातीनातिनासँगै बसेर दशैं मनाउने धोकोसहित स्वदेश फर्किए ।
पाँच वर्षपछि कर्मथलोबाट जन्मथलो फर्किंदै गर्दा भुलको खुसीको सीमा नै थिएन । ५२ वर्षदेखि भारतमा चौकीदारी गर्दै आएका भुल महाराष्ट्रबाट बसको यात्रा सकेर बुधबार बिहानै जब कैलालीको गौरीफन्टा नाकामा उत्रिए, उनले अनेकौं तनाव व्यहोर्नुपर्यो ।


कैलालीको गौरीफन्टा नाकामा चेकजाँचका नाममा भारतीय सुरक्षाकर्मीबाट सुरु हुने अनावश्यक सास्तीलाई आफ्नै भूमिमा नेपाली सुरक्षाकर्मीले पनि निरन्तरता दिन्छन् । अझ अटो-रिक्सा चालकहरूले थपन् हैरानीको त हिसाब किताबै छैन ।
भुलले धेरै वर्षअघि श्रीमती गुमाइसकेका छन् । छोराबुहारीको आग्रहमा घर फर्किएका उनलाई सीमाको सास्ती सम्झँदै घर फर्कन मन लाग्दैन ।
तर नआई पनि त भएन । छोरा-बुहारीले कर गर्छन् । छोरा–बुहारी, नातीनातिनासँगै दशैं मनाउन नपाएको पनि पाँच वर्ष भइसकेछ । भुल आफैंलाई पनि आफ्नो जन्मभूमिमा आउँदा छुट्टै रमाइलो हुन्छ । ‘श्रीमती बितेपछि घर आउन मन नलागेर महाराष्ट्रमै काम गरिरहेको थिएँ’ भुलले भने, ‘यो पाली त परिवारसँगै दशैं मान्न र नानीबाबुहरूलाई टीका थाप्न घर फर्किंदैछु ।’ आफ्नो जीवनको २२ वर्ष मुम्बई र १४ वर्ष दिल्लीमा चौकीदारीमै बिताइसकेका भुल अहिले महाराष्ट्रमा एउटा कम्पनीमा कार्यरत छन् ।
भुलजस्तै गौरीफन्टा नाका भएर दशैं मनाउन घर फर्किनेहरूको गुनासो उस्तै छ- नाकामा असाध्यै दुःख र हैरानी खेप्नुपर्यो ।
सामान्य समयमा गौरीफन्टा नाकाबाट धनगढी चौराहसम्म यात्रा गरेको भाडा ३० रूपैयाँ लिने गरिएको छ तर भारतबाट फर्किनेहरूबाट अटो रिक्सा चालकहरूले दुई सय भारतीय रूपैयाँदेखि एक हजारसम्म लिइरहेको छन् । उनीहरूले लाहुरेसँग सामानको समेत जोडेर महंगो भाडा असुल्ने गरेका छन् ।
कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले सीमा क्षेत्रमा भारतबाट फर्किने कुनै पनि नेपालीले दुःख नपाओस् भनेर सुरक्षा व्यवस्था मजबुत बनाइएको दाबी गर्छन् । अटो रिक्सा चालकले बढी भाडा लिएको, चेकजाँचका नाममा सुरक्षाकर्मीले दुःख दिएको देखिएमा कारबाहीको दायरामा ल्याइने विष्टले बताए ।
कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले पनि सीमा नाकामा विभिन्न बाहानामा यात्रुहरूलाई दुःख दिने, ठग्ने जस्ता कार्य गरेको पाइएमा कारबाही गरिने बताए । अटो रिक्सा चालकहरूले यात्रुबाट मनपरी रूपमा भाडा लिइरहेको कुरा जानकारीमा आएको बताउँदै मिश्रले निर्धारण गरिएको भन्दा बढी भाडा असुल्नेलाई कारबाही गरिने बताए ।